भारतीय पत्रकार लेख्छन् : सुन्दर छ पोखरा तर सडकहरु कुरुप

भारतीय पत्रकार लेख्छन् : सुन्दर छ पोखरा तर सडकहरु कुरुप

  • बिहिबार, जेष्ठ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

पोखरा, जेठ १८ । अव्यवस्थित सडकका कारण पर्यटकीय नगरी पोखरा पुग्न विदेशी पर्यटकले विभिन्न किसिमका समस्या झेल्नु परेको भारतीय पत्रकारले बताएका छन् ।

प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहिरीसहित पोखरा आइपुगेको नौ सदस्यीय पत्रकारको टोलीले पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा बुधबार आयोजित अन्तरक्रियामा अव्यवस्थित सडकका कारण पर्यटकमा नकारात्मक प्रभाव पर्नसक्ने हुँदा त्यसतर्फ बेलैमा सम्बन्धित निकायको ध्यान पुग्नु आवश्यक भएको बताए ।

नेपालको दक्षिणी सीमाबाट नेपाल प्रवेश गर्ने भारतीयलगायत अन्य देशका पर्यटकले साँघुरा, भत्किएका तथा अव्यवस्थित सडकको यात्रा गर्नुपर्दा निकै दुःख झेल्नु परेको वास्तविकतालाई आत्मसात् गरी सडक पूर्वाधारलाई व्यवस्थित गर्नुपर्नेमा दिल्लीस्थित मिलेनियम पोस्टका कन्सल्टिङ एडिटरसमेत रहेका अध्यक्ष गौतम लहिरीले जोड दिए ।

“नेपालले सडकका साथै सबै पर्यटकीय पूर्वाधार व्यवस्थित र सुदृढ गर्न सकेमा स्थल मार्गबाट समेत धेरैभन्दा धेरै पर्यटक नेपाल र पोखरा आउँछन्,” उनले भने ।

दिल्लीस्थित ‘आनन्दबजार’ पत्रिकाका सहायक सम्पादक अग्नि रोयले नेपालको अव्यवस्थित सडकलाई तत्काल सुधार गर्नुपर्ने धारणा राखे ।

काठमाडौँ आएका पर्यटक पोखरा पुग्न एउटै मात्र पृथ्वी राजमार्ग रहेको र अन्य वैकल्पिक छोटो मार्ग नहुँदा नेपालप्रति पर्यटकको धारणा नकारात्मक हुन सक्नेतर्फ सबै सरोकारवाला गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।

इन्डोएसियन न्यूज सर्भिसका वरिष्ठ सहायक सम्पादक प्रशान्त सुदले पोखराको सुन्दरताबाट आफूहरू निकै प्रभावित भएको बताउँदै पर्यटनका लागि चाहिने आधारभूत आवश्यकता र पूर्वाधार निर्माणका लागि नेपाल सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले पटक पटकका बन्द र हडताल, भूकम्प तथा भारतीय नाकाबन्दी र नोटबन्दीबाट सिङ्गो पर्यटन क्षेत्र र नेपालकै अर्थतन्त्रसमेत प्रभावित भएपनि अहिले यो सुधारका क्रममा रहेको जानकारी दिए ।

विगतमा सङ्घले ‘चलिए पोखरा’ अभियानका साथ भारतका विभिन्न सहरमा प्रवद्र्धनका लागि पुगेको स्मरण गराउँदै उनले त्यस्तो अभियान पुनः छिट्टै बोर्डर टाउन सेल्स मिसनअन्तर्गत सञ्चालन गरिने जानकारी दिए ।

नेपाल आउने वार्षिक आठलाख पर्यटकमध्ये एक तिहाइ भारतीयको सङ्ख्या रहने गरेको जानकारी दिँदै उनले क्रिकेटलगायत भारतीयले मन पराउने खेलबाट समेत नेपालमा भारतीय पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको उल्लेख गरे ।

सङ्घका सल्लाहकार गोविन्दराज पहारीले पर्यटन क्षेत्र निकै संवेदनशील भएको र पोखरासहित समग्र नेपालमा पूर्वाधार निर्माणका लागि आफूहरूले सरकारलाई घच्घच्याइरहेको जानकारी दिँदै मुिक्तनाथ र पशुपतिनाथजस्ता धाम भारतीय पर्यटकको महत्वपूर्ण गन्तव्य भएको स्मरण गराए ।

सङ्घका महासचिव गणेशराज पहारीले पोखरा भारतीय पर्यटकका लागि गर्मी छल्न उपयुक्त स्थल भएको बताउँदै पोखरामा छिट्टै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने र तत्पश्चात् सिधा उडानमार्फत भारतीय पर्यटक नेपाल आउनसक्ने विश्वास व्यक्त गरे।रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ