काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ ।
महानगरका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकले घरघर उत्सर्जन हुने फोहरलाई सूर्योदय अगावै विर्सजन गर्ने व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।महानगरपालिकाले बिहीबारदेखि सूर्योदयअगावै फोहोर उठाउने भएको हो । कामपाका प्रमुख शाक्यका अनुसार काठमाडौँ महानगरको सरकारी कामकाजको भाषाका रुपमा नेपाली र नेपाल भाषाको प्रयोग गर्ने निर्णय गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घमा नेपालको पहिचानका रुपमा सूचीकृत भएको रञ्जना लिपीलाई समेत कामपाको सबै वडा कार्यालयको बोर्ड र ‘लेटर प्याड’मा प्रयोग गरिने भएको छ ।
दुई वर्ष अघिको भूकम्पबाट पीडित महानगरवासीलाई निजी आवासीय प्रयोजनका घर निर्माण गर्दा निःशुल्क परामर्श सेवा र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुटको व्यवस्था गरिने महानगरले निर्णय गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरघरमै चिकित्सक पठाइने र काठमाडौँ महानगरमा स्थान पहिचान गरी आवश्यक सङ्ख्यामा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय पनि गरिएको छ ।
काठमाडौं महानगरपालिकाको पहिलो निर्णय
१) बार्षिक १२ हजार वृद्धभक्ता
२) क्लिन काठमाडौं
३) सूर्योदय अगावै फोहोर उठाउने
४) भूकम्पपीडितको नक्सा पास निशुल्क
५) नेपाली र नेपाल भाषालाई कामकाजीको भाषा
६) महत्वपूर्ण सार्वजनिक स्थलमा फ्रि वाइफाइ
७) महानगरको भवन तथा वडा कार्यालयको भवन निर्माण
८) सार्वजनिक शौचालय निर्माण
९) महानगरलाई जिवन्त शहरमा विकास
महानगरलाई २४ घण्टा खुला जीवन्त सहरका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास गरिने पनि प्रमुख शाक्यले जानकारी दिनुभयो ।
