चितवन,१५ जेठ ।
भरतपुर महानगरपालिकाको मतगणना हुँदाहुँदै नेकपा माओवादी केन्द्रका दुई जना कार्यकर्ताले मतपत्र च्यातेपछि आइतबार रातिबाटै मतगणना कार्य स्थगित गरिएको छ।
महानगरपालिकाको वडा नं. १९ को मतगणना भइरहेको समयमा माओवादी केन्द्रका दुई जना प्रतिनिधिले गणनास्थलमा नै मतपत्र च्यातेका थिए। मतपत्र च्यातेको आरोपमा वाइसीएल चितवनका इन्चार्ज मधु न्यौपाने र माओवादी केन्द्रका प्रतिनिधि द्रोणबाबु शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
‘मतगणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातेपछि हामीले नियन्त्रणमा लिएका हौँ’ चितवन जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले भने, ‘गणना भइरहेको थियो, एक्कासी उफ्रिएर मतपत्र च्यातेको देखेँ। त्यसपछि नियन्त्रणमा लिन खोज्दाखोज्दै अर्को पत्र पनि च्याते। दुई जनाले केही मतपत्र च्यातेपछि हामीले नियन्त्रणमा लिएका हौँ।’
‘च्यातिएको मतपत्र र बाकसबाट खोलेको मतपत्र दुबै थरीलाई कपडामा पोको पारेर सिल गरी राखेका छौँ’ प्रहरी उपरीक्षक थापाले भने, ‘गणना हुन बाँकी रहेको मतपत्रलाई पनि सुरक्षित राखेका छौँ। मतगणना स्थलमा घटना भएपछि सुरक्षाको लागि गणनास्थललाई नै सिल गरेर सुरक्षा दिएका छौँ। गणनास्थल वरपर कसैलाई पनि जान नदिएर सुरक्षा गरिएको छ।’
मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले अवस्था असहज भएको भन्दै अर्को सूचना जारी नगर्दासम्म गणना नगर्ने भन्दै मतगणना कार्य स्थगित गरेका छन्। उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू शौचालय गएको बेला केही व्यक्तिहरुले मतगणना स्थललाई रणभूमिमा परिणत गराएको बताए।
मतगणनाको पछिल्लो नतिजा अनुसार, मेयर पदका उम्मेदवारहरु एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहालबीच तिब्र प्रतिस्पर्धा भएको थियो। नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका देवीप्रसाद ज्ञवालीले चुनाव हार्ने भएपछि माओवादीले जंगली शैलीमा मतपत्र च्यातेको आरोप लगाए।
मतगणना कार्य स्थगित भएपछि नेकपा एमाले चितवनले पत्रकार सम्मेलन गरी महानगरपालिकाको मतगणना कार्य तत्काल शुरु गर्न माग गरेको छ। पार्टीले कार्यालयमा पत्रकार सम्मेलन गरी मतपत्र च्यात्ने दोषीमाथि कारबाही गरी रोकिएको मतगणना कार्य तत्काल शुरु गर्न माग गरेको हो।
नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादी कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको पराजय निश्चित भैसकेपछि योजनाबद्ध ढंगबाट मतगणनास्थलभित्र प्रवेश गरी मतपत्र च्यातिएको बताउनुभयो। उहाँले माओवादी केन्द्रको नेतृत्वको निर्देशनमा वाइसिएल जिल्ला इन्चार्ज मधु न्यौपाने, द्रोण शिवाकोटी, दिलिप पौडेल लगायतको टोलीले कर्मचारीको हातमा रहेको र भूइँमा रहेको मतपत्र आफ्नो हातमा लिई च्यातेको बताउनुभयो।
घटनाका विषयमा माओवादी निकटका केही व्यक्तिहरुले एमालेलाई बदनाम गराउने उद्देश्यले आफ्ना कमजोरी ढाकछोप गर्न एमालेलाई मुछेर कपोलकल्पित र भ्रामक टिप्पणी गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष पोखरेलले एमालेले च्यातिएको अवस्थाका मतपत्रको बारेमा सञ्चारकर्मीहरुलाई भित्र गएर भिडियो खिच्न समेत निर्वाचन कार्यालयले रोक लगाउनु, घटना हुनसक्ने सूचनाका आधारमा पूर्वजानकारी गराउँदा पनि उचित सुरक्षा व्यवस्था नअपनाउनुका पछाडि राज्य सत्ताको सुनियोजित योजना मुताबिक गरिएको बताउनुभयो।
तत्काल मतगणना गर्न निर्वाचन आयोग समक्ष माग राखिएको बताउँदै अध्यक्ष पोखरेलले च्यातिएको मतपत्र अलग राखी बाँकी मतपत्र तत्काल गणना हुनुपर्ने बताए। यसैगरी माओवादीले गरेको घटनाको विरोधमा एमाले पार्टीले दिउँसो चौबीसकोठीमा कोणसभाको आयोजना गरी जनताको मतलाई स्वीकार नगरेर हारको मानसिकताबाट ग्रसित भएको जनाएको छ।
कोणसभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सल्लाहकार तथा पूर्वमन्त्री केशवलाल श्रेष्ठले जनताको मतमाथिको बर्बरता कदापि स्वीकार्य नहुने बताए। उनले मतपत्र च्यात्नेलाई कारबाही गरी तत्काल मतगणना गर्न माग गरे। जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले हारको मानसिकताले माओवादी केन्द्रले मतपत्र च्यातेको बताए। उनले तत्काल मतगणना गरेर जनताले दिएको अभिमत सार्वजनिक गर्न आग्रह गर्नुभयो।
यसैबीच, नेकपा माओवादी केन्द्र चितवनले सोमबार प्रेस विज्ञप्ति निकालेर भरतपुर महानगरपालिकामा मतगणना भइरहेको समयमा मतगणना स्थलमा एमाले कार्यकर्ताले मतपत्र च्यातेको आरोप लगाएको छ। माओवादी केन्द्रका चितवन इञ्चार्ज इश्वरी भट्टराईद्वारा जारी विज्ञप्तिमा एमाले कार्यकर्ताले मत परिणाम प्रभावित पार्ने उद्देश्यले मतपत्र च्यातेको उल्लेख छ।
आफ्नो उम्मेदवार रेणु दाहाल जिततर्फ उन्मुख भइरहेका बेला एमालेका प्रतिनिधिले मतगणना स्थलमा मतपत्र च्यात्न खोजेपछि आफ्ना प्रतिनिधिले त्यसको रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिएको माओवादी केन्द्रले जनाएको छ। माओवादी केन्द्रले पक्राउ परेका आफ्ना कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेको तत्काल रिहाई र स्थानीय तह निर्वाचन ऐन अनुसार सम्बन्धित मतदान केन्द्रको पुनः मतदान गर्न माग गरेको छ।
यस्तै, नेपाली काँग्रेस चितवनले मतपत्र च्यातिएको घटनाको निन्दा गर्दै भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान प्रक्रिया अघि बढाउन माग गरेको छ। काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा भरतपुर १९ को मत परिणामलाई असर पर्ने गरी मतपत्र च्यातिएको भन्दै पुनः मतदान प्रक्रिया अघि बढाउन माग गरिएको छ।
विभिन्न संघसंस्थाको ध्यानाकर्षण
भरतपुर महानगरपालिकामा जारी मतगणनामा जनमतको उपहास हुने गरी आइतबार मध्यरातमा मतपत्र च्यातेको घटनाले लोकतन्त्रमाथि विश्वास राख्ने समूहलाई लज्जित बनाएको भन्दै मानवअधिकारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाले ध्यानाकर्षण भएको जनाएका छन्।
नेतृत्वमा पुग्नका लागि आधिकारिक बाटो चुनाव र चुनावको परिणाम नै सर्वस्वीकार्य हुनुपर्नेमा केही दल र व्यक्ति विशेषले जनमतको कदर नगरी सिंगो मतगणना कार्यलाई प्रभावित पार्ने गरी भएको घटनाको विरोध गर्दै संघसंस्थाले सोमबार विज्ञप्ति निकालेका छन्। सुरक्षा संयन्त्र, निर्वाचन आयोग, राजनैतिक दल, पत्रकार, नागरिक समाज सबैमा यस घटनाप्रति जिम्मेवार भई यथाशक्य छिटो मत परिणाम सार्वजनिक गरी जनताको मतको कदर गर्न अनुरोध गरिएको छ।
राष्ट्रिय मानवअधिकार एलायन्स, अनौपचारिक क्षेत्र सेवा केन्द्र, गैसस महासंघ नेपाल, राष्ट्रिय मानवअधिकार एलायन्स, मानव अधिकार संरक्षण मञ्च र गैसस समन्वय समितिद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा च्यातिएका मतपत्रमाथि छानबिन गरी मतगणना पुनः सुरु गर्न आग्रह गरिएको छ।-अन्नपूर्ण पाेष्टबाट