१४ जेष्ठ,विरगञ्ज । दोस्रो चरणको निर्वाचन नजिक आउँदै गर्दा एमालेका केन्द्रीय सदस्य र पूर्व सांसदसहित दर्जनौं नेता–कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
विरगञ्जका चर्चित नेता तथा नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी र पूर्व निर्वाचित सांसद प्रद्युमन चौहानको नेतृत्वमा दर्जन नेता–कार्यकर्ता आइतबार फोरम नेपालमा प्रवेश गरेका हुन् ।
विरगञ्जको नगरसभा गृहमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशी नेता कार्यकर्ताहरुलाई फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका छन् ।
एमालेका चर्चित नेता दिनेश कलवार, एमाले निकट विद्यार्थी संगठन अनेस्ववियुका नेता सुजित गिरी, ठाकुर राम बहुमुखि क्याम्पसका नेता आजादले फोरम नेपालको सदस्यता लिएका छन् ।
विरगञ्जबाट प्रकाशित हुने लोक टाइम्स दैनिकका प्रधान सम्पादक पवन तिवारी पनि फोरम नेपालमा प्रवेश गरेका छन् । कांग्रेस, एमाले र माओवादीका प्रभावशाली नेताहरुसँगै पर्साको सदरमुकाम विरगञ्ज र गाउँगाउँबाट आएका हजारौंको संख्यामा कार्यकर्ताहरु फोरम नेपालसँग जोडिएका छन् ।
पर्सा जिल्लामा एकपछि अर्को गर्दै प्रमुख तीन दलसहित अन्य पार्टीहरु परित्याग गरी प्रभावशाली नेताहरुले फोरम नेपालमा प्रवेश गरिरहेका छन् ।