काठमान्डाै ,१४ जेठ ।
व्यवस्थापिका संसदमा दर्ता भएको प्रधानन्यायधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव औपचारिक रुपमा फिर्ता भएको छ ।
काँग्रेस र माओवादी केन्द्रका दुई सय ४९ जना सांसदको हस्ताक्षरसहित वैशाख १७ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।
काँग्रेस सांसद मीनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक रहेको प्रधानन्यायधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव उहाँहरुले नै आइतबार सभामुख ओनसरी घर्तीलाई फिर्ता लिन लगाउनु भएको हो ।
विश्वकर्मा र बस्नेतले सभामुखलाई लेखेको पत्रमा भनिएको छ, ‘हामी प्रस्तावक र समर्थक रही नेपालको संविधानको धारा १०१ को उपधारा (२) बमोजिम सर्वोच्च अदालतका प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरी व्यवस्थापिका संसदमा छलफलका लागि मिति र समय तोकिसकिएकोमा मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर राखी उक्त प्रस्ताव अघि नबढाउन अनुरोध गर्दछौं।’
