बिद्यासुन्दर शाक्यले काठमाण्डौ महानरगालिकाको मेयर जित्दै पुन आफ्नो अपराजित यात्रा जारी राख्नुभयो । स्व.पिता हेरारत्न शाक्य र माता मंगलशोभा शाक्यको कोखबाट काठमाडौँकै लगनटोलमा विं.सं. २०२० जेठ ९ गते जन्मिनुभएका शाक्यले अब आफ्नै टोलबाट करिब एक–डेढ किलोमिटरको मात्र दूरीमा रहेको बागदरवारको कुर्सी पाँच बर्षसम्म सम्हाल्नुहुनेछ ।
अहिलेसम्म कुनै पनि निर्वाचनमा पराजित नभएका शाक्यलाई अब आगामी पाँचवर्ष भित्र काठमाडौँ महानगरपालिकालाई कस्तो बनाउने भन्ने गहकिलो जिम्मेवारी आएको छ ।
त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालयतहको अध्ययन पूरा गर्नुभएका शाक्यले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गर्दासम्म पनि काठमाडौँको मेयर बन्ने सायदै सोच्नुभएको थियो ।
विद्यालयतहदेखि नै राजनीतिमा सम्लग्न सरल, सभ्य र शालिन व्यक्तित्वका धनी शाक्यले पद र पैसाका लागि कहिल्यै राजनीति गर्नुभएन ।
राजनीति प्रतिष्ठा र समाज परिवर्तनका लागि गर्ने हो भन्ने अठोट बोकेर हिड्नु भएका शाक्यले अहिलेको सफलतालाई निरन्तरको योगदान र निष्ठाको प्रतिफल भएको बताउनु हुन्छ ।
काठमाडौंको भित्रि सहरमा निकै लोकप्रिय जनप्रतिनिधीका रुपमा आफ्नो छुट्टै परिचय बनाउन सफल शाक्य काठमाडौँको नेवारी समूदायमा जन्मि–हुर्किनु भएको हो ।
यसरी सुरु भयो राजनीतिक यात्रा
१६ वर्षको कलिला उमेरदेखि नै राजनीतिमा होमिनु भएका शाक्य०३७ सालको जनमत संग्रहका बेलादेखि नै राजनीतिमा सक्रिय बन्नुभएको देखिन्छ ।
०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पनि उहाँले अग्रमोर्चामै उभिएर सक्रिय भूमिका खेल्नुभयो । प्रजातन्त्रप्राप्तिको आन्दोलनका क्रममा निर्भीकतापूर्वक अग्रमोर्चामा रहेकै कारण पटक–पटक प्रहरीको निशानामा पर्नुभएपनि विचलित हुनुभएन ।
शाक्यले प्रजातन्त्र प्राप्तिपछि स्थापना भएको नेकपा (एमाले) को तत्कालिन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको काठमाडौँको संस्थापक कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नु भयो ।
काठमाडौँका युवाहरुलाई संगठित गर्ने, संगठनलाई कुशल ढंगले सञ्चालन गर्ने जस्ता कार्यमा उहाँको भूमिका उल्यख्य रहेको थियो ।
उहाँले कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दा गरेको कामको मूल्याङ्कन गर्दै पार्टीले ०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा काठमाडौँ वडा नम्बर २१ को अध्यक्षका रुपमा अघि सार्यो ।
कुशल संगठनका रुपमा आफुलाई उभ्याउन सफल शाक्यलाई त्यस बेला निर्वाचन जित्न कुनै समस्या भएन । उहाँ शानदारका साथ आफ्नो वडाबाट सूर्य अंकित झण्डालाई फहर्याउन सफल हुनुभयो ।
सबैका कुरा सुन्ने, विकास निर्माणका काममा अहोरात्र खटिरहने, भाषण भन्दा बढी काममा विश्वास गर्ने, नेता–कार्यकर्ताहरुको भावनालाई सम्मान गर्ने, राम्रो कामका लागि विपक्षीलाई पनि साथ समर्थन गर्ने र अध्ययनमा विशेष रुची राख्ने शाक्य पहिलो पटक जनप्रतिनिधिका रुपमा निर्वा्चित हुँदा सबैको उदाहरणीय बन्नुभयो ।
शाक्यले आफ्नो पहिलो कार्यकालमा उक्त वडामा उदाहरणीय काम गरेकै कारण उहाँलाई एमाले भित्र मात्रै हैन अन्य रानैतिक दलले पनि प्रशंसा गर्थे ।
०५४ सालमा भएको स्थानीयनिर्वाचनमा पनि उहाँ दोस्रो कार्यकालमा वडाध्यक्ष निर्वा्चित हुनभयो ।
शाक्य करिब दुई दशकदेखि नेकपा (एमाले)को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
आफ्नो निर्णय र अडानमा कायम रहने शाक्य अहिले २०७४ जेठ मा काठमाण्डौको मेयरमा निर्वाचित हुनुभयो ।
राजनीतिमा लागेर अहिले सम्मकुनै पनि विवादमा नमुछिनुभएका शाक्यले आफ्नो कार्यकालमा भनिने महानगर होइन देखिने महानगर बनाउँने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।