काठमाडौ १३ जेठ ।
राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन पर्साले आगामी जेठ ३१ मा हुने दोस्रो चरणको निर्वाचन मिति सार्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
जेठ १३ गतेदेखि मुसलमान समुदायको एकमहिने रमजान व्रत सुरु हुने र व्रतका क्रममा निर्वाचनका गतिविधिमा आफ्नो समुदाय सहभागी हुन नसक्ने भएकाले निर्वाचन सार्न आग्रह गरिएको गठबन्धन पर्साका अध्यक्ष अब्दुलखैर अन्सारीले जानकारी दिनुभयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा यही जेठ ३१ गते हुने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति अगाडि सार्न आग्रह गरिएको छ ।
सो समुहले कक्षा ११ को सार्न पनि आग्रह गरिएको छ । ज्ञापनपत्रमा आगामी असार ११, १२ र १३ गते मुसलमान समुदायको इद उलफित्र पर्व परेको र सोही मितिमा परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले उच्चमाध्यमिक विद्यालय कक्षा ११ को परीक्षा राखेकाले इद मनाउनबाट समुदायका बालबालिका वञ्चित हुने भएकाले परीक्षाको मितिसमेत इदपछि राख्न अनुरोध गरिएको छ ।
मुसलमान नागरिक समाज पर्साले समेत ज्ञापनपत्र बुझाउँदै स्थानीय तह निर्वाचनको मिति र कक्षा ११ को परीक्षालाई इदपछिको मितिमा सार्न आग्रह गरेको छ ।