काठमाडौ १३ जेठ ।
काठमाडौ र भरतपूर महानगरपालिकाको मतगणना अहिले जारी छ ।
काठमाडौ महानगरपालिकाको मेयरमा पनि एमालेकै जीत सुनिश्चित देखिएको छ । काठमाडौको १० हजार मत गन्न बाँकी रहँदा एमालेका विद्यासुन्दर शाक्य कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा करिब १८ हजार मतले अगाडि हुनुहुन्छ ।
पछिल्लो मतगणनाको परिणाम अनुसार, शाक्य काठमाडौं महानगरपालिकाको मेयरमा भारी मतले विजयी हुने निश्चित देखिएको हो । हालसम्मको गणना अनुसार शाक्यले ६१ हजार ५ सय ६ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजुराज जोशीले ४३ हजार १ सय २९ मत पाउनु भएको छ भने विवेकशील नेपाली पार्टीका रञ्जु दर्शनाले २२ हजार ३ सय ४१ र साझा पार्टीका किशोर थापाको १७ हजार ८ सय ४४ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा पनि नेपाली कांग्रेसका हरिप्रभा खड्गीको जित सुनिश्चित भइसकेको छ । १० हजार मत गन्न बाँकी हुँदा खड्कीले एमाले समर्थित राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठलाई २२ हजार भन्दा बढी मतान्तरले पछि पारिसक्नु भएको छ ।
खड्गीले ५६ हजार ८ सय ४५ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार ९९ मत पाउनु भएको छ । साझा पार्टीका निरुपमा यादवको ११ हजार २४ मत रहेको छ । काठमाडौ महानगरपालिकाको सम्भवता आज साँझसम्म सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने जनाइएको छ ।
यसैबीच मतगणनाका क्रममा मतपत्रको अर्धकट्टी भेटिएपछि स्थगित भएको भरतपूर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । वडा नंं १७ को मतपेटिकामा अर्धकट्टी सहितको मतपत्र भेटिएपछि दलहरुले यसको छानबिन हुनुपर्ने माग गरेपछि विवाद हुँदा मतगणना केहीबेर रोकिएको थियो ।
विवादपछि भएको छलफलमा अर्धकट्टीमा समावेश मतपनि गणना गर्ने सहमति भएको जनाइएको छ । पछिल्लो मतपरिणाम अनुसार भरतपुर महानगरको मेयरमा ३७ हजार १ सय १८ मतसहित नेकपा एमालेका देवी ज्ञवाली शिर्ष स्थानमा कायम छ ।
उहाँका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका रेणु दाहालले ३५ हजार ५ सय १८ मत पाउनु भएको छ । उपमेयरमा भने नेपाली कांग्रेसका पार्वती शाह शिर्ष स्थानमा कायम रहनु भएको छ ।
उहाँले ३८ हजार ९ सय ९४ मत प्राप्त गर्नु भएको छ भने उहाँको प्रतिद्धन्द्धि एमालेका द्धिव्य आचार्यले ३३ हजार ६ सय ३६ मत प्राप्त गर्नु भएको छ ।