काठमाडौँ, १० जेठ । सरकारले अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिँदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।
नेपालको संविधानले हरेक वर्ष जेठ १५ बजेट संसद् समक्ष प्रस्तुत गर्ने व्यवस्थाअनुरुप अर्थमन्त्री कृष्णबहादुर महराले आगामी सोमबार आव २०७४÷७५ का निम्ति बजेट प्रस्तुत गर्ने तयारी गर्नुभएको हो ।
सङ्घीयता कार्यान्वयन गर्ने गरी बजेट ल्याउनुपर्ने भएकाले रु १२ खर्बभन्दा बढीको बजेट ल्याउन लागिएको अनुमान छ । गत आवमा सरकारले रु १० खर्ब ४८ अर्बको बजेट ल्याएको थियो ।
अर्थ मन्त्रालयले मुलुकको सामाजिक एवम् आर्थिक विकासलाई केन्द्रित गरेर बजेटको तयारी गरिरहेको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्राडा पुण्यप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
नयाँ कार्यक्रम स्थानीय तहले बनाउने भएकाले नयाँ कार्यक्रमको आवश्यकता पनि नपर्ने उहाँको भनाइ छ । कर तथा करका दरमा कुनै पनि परिर्वतन नगर्ने सरकारी योजना छ ।
उता राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा गोविन्द नेपालले निर्वाचनको बीचमा आउन लागेको बजेटमा नयाँ कार्यक्रम हुँदैन भन्ने विषयमा आफुलाई विश्वास नलागेको बताउनु भयो । उहाँले भन्नुभयो , सत्ताधारी दलको घोषणापत्र हेर्दा आगामी बजेट नयाँ कार्यक्रमविहीन हुन सक्दैन, नयाँ कार्याक्रम आउँछ ।
चालु आवमा देखिएको उत्साहजनक आर्थिक वृद्धिदरलाई स्थिर राख्न सक्दा पनि मुलुकको अर्थतन्त्र सबलीकरणतर्फ अगाडि बढ्छ भन्ने विश्वासका आधारमा सरकारले बजेटलाई आम नेपालको बनाउन जरुरी छ ।
मुलुकमा लागू गरिएको चौधौँ योजनाका लक्ष्य पूरा गर्नका लागि आवश्यक पृष्ठभूमि तयार गर्न पनि आगामी आवका लागि जारी गरिने बजेट अत्यन्त महत्वपूर्ण र ऐतिहासिक हुनेछ ।