काठमाण्डौ ,१० जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिनुभएको छ ।
सिंहदरबारमा आज आपरान्ह ४ बजे देशबासीका नाममा सम्बोधन गर्दै उहाँले पद त्याग गरेको घोषणा गर्नुभएको हो । साथै उहाँले आफूले तत्काल राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने घोषणा पनि गर्नुभयो ।
नेपालको राजनीतिमा लामो समयदेखि ‘नैतिकताको खडेरी’ पर्दैआएको पृष्ठभूमिमा आफूले नेपाली काँग्रेससँग गरेको समझदारी अनुसार राजीनामा गरेको उहाँले बताउनुभयो ।
गत वर्ष साउन २० गते नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सहित अन्य दलसँगको समर्थनमा उहाँ प्रधानमन्त्री हुनुभएको थियो ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफ्नो सरकारले गरेका राम्रा कामको उपलब्धि चर्चा गर्दै फास्ट ट्र्याक निर्माण, लोडसेडिङ अन्त्य, स्थानीय तह निर्वाचनलाई उनले आफ्नो सरकारको महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो ।
उहाँले षड्यन्त्रकाबीच निर्वाचन सम्पन्न भएको बताए पनि उक्त षड्यन्त्र कसले गरेको थियो भन्ने खुलाउनु भएन ।
प्रधानमन्त्री दाहालले आफ्नो सरकार गठन हुनुअघि सपनाको वर्षात गराइए पनि आर्थिक वृद्धिदर शून्य रहेको बताउनु भयो । यो आर्थिक वर्षमा ७.५ प्रतिशतको आर्थिक वृद्धिदरलाई उनले सरकारको महत्वपूर्ण उपलब्धिको रुपमा टिप्पणी गर्नुभएको छ ।
सम्बोधनका क्रममा उहाँले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन, काठमाडौँ उपत्यकामा विद्युत् कटौतीको अन्त्य, लगानी सम्मेलनको सफल आयोजना, आर्थिक वृद्धिदर बढोत्तरीका निम्ति गरिएका सुधार कार्यक्रम, सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा, गरिब तथा विपन्न नागरिकलाई सहयोग र भूकम्पपछिको पुनःनिर्माणका कामलाई गति दिन आफू नेतृत्वको सरकार सफल भएको बताउनुभएको छ ।