१० जेठ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरवारबाटै पदबाट राजिनामा दिने तयारी गर्नुभएको छ । आज पनि ब्यावस्थापिका संसदको बैठक सुचारु हुन नसके सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्रीको तयारी छ ।
आज बिहान प्रधानमन्त्री दाहालको आह्वानमा बसेको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपनि उहाँले सिंहदरवारबाटै राजिनामा दिन लाग्नुभएको जनाईएको छ ।
संसद सुचारु गर्ने प्रयासमा प्रधानमन्त्री प्रचण्डले विहान ९ बजे बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको थियो । तर, बैठकमा एमाले अध्यक्ष ओली जानुभएन ।
प्रचण्डले ओलीलाई दुई पटक फोन गरेर आउन आग्रह गरेपनि ओलीको अनुस्थिीति रहेपछि बैठक नै हुन नसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले हिजो मंगलबार नै संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गर्नुभएको थियो । तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन र प्रधानमन्त्रीले सम्बोधन गर्न पाएनन् ।
अहिले तीन दलका नेताहरु संसदमा छन् । तर, तीन दलको बैठक बस्न सकेको छैन । आज अवेरसम्म सहमतिको प्रयास हुने र सहमती भएर संसदलाई सम्बोधन गर्न नदिइए प्रधानमन्त्रीले सिंहदरबारबाटै देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने सम्भावना रहेको उहाँ निकट स्रोतले जनाएको छ ।