पोखरा, जेठ ८ । पोखरा–लेखनाथ महानगरपालिका वडा नम्बर १७ को मतगणनाको विवाद टुंगोमा पुग्न सकेको छैन ।निर्वाचन आयोगले लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन ।
मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार विभिन्न चरणमा सर्वदलीय बैठक राखिए पनि दलहरूबीच सहमति नजुटेको हो ।
मतगणना जारी राख्न निर्वाचन आयोगले निर्देशन दिएपछि नेकपा एमालबाहेकका सबै दलले बहिस्कार गर्दै पुनः निर्वाचनको माग गरेका छन् । यसले गर्दा पनि मतगणना सुरु हुन सकेको छैन ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति, संघीय समाजवादी फोरम लगायतका दलले मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णलाई ज्ञापनपत्र बुझाउँदै पुनः निर्वाचनको माग गरेका हुन् ।
ती दलले राखेका मागमा निर्वाचन आयोगले चित्त बुझाउन नसक्दा मतगणना सुरु भएको छैन ।
शनिबार साँझ मतगणनाको क्रममा वडा नम्बर १७ को मतपत्रमा फरक खालको स्वस्तिक छाप भेटिएको भन्दै काँग्रेस, माओवादी केन्द्र र राप्रपा लगायतका दलले मत गणना बहिष्कार गरेकाले गणना अवरुद्ध भएको हो ।