काठमाडौ, ६ जेठ ।
पहिलो चरणको स्थानीय निर्वाचन अन्तरगत मुलुकका चार वटै महानगरपालिकाको मतगणना जारी छ । चार मध्ये ललितपूर महानगरपालिकामा कांग्रेसको अग्रता छ भने बाकी काठमाडौ, पोखरा र भरतपूर महानगरपालिकामा नेकपा एमालेको अग्रता कायम छ ।
हालसम्मको गणना अनुसार काठमाडौ महानगरपालिकामा नेकपा एमालेका विद्या सुन्दर शाक्य १८ हजार ३ सय ८० मतका साथ शिर्ष स्थानमा हुनु हुन्छ ।
कांग्रेसका राजुराज जोशी १२ हजार ७ सय ६७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
उता ललितपूर महानगरपालिकामा भने नेपाली कांग्रेसका चिरीबाबु महर्जन १६ हजार ६ सय १३ मतका साथ शिर्ष स्थानमा हुनुहुन्छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका हरिकृष्ण व्यन्जनकारले १४ हजार ९ सय १ मत पाउनु भएको छ ।
यस्तै पोखरा लेखनाथ महानगरपालिकामा पनि एमालेको अग्रता कायम छ । महानगरको मेयरमा एमालेका मान बहादुर जिसी २० हजार ४ सय ७९ मतका साथ शिर्षस्थानमा हुनुहुन्छ भने कांग्रेसका रामजी कुँवर १८ हजार ४ सय ३५ मतका साथ दोस्रँे स्थानमा हुनुहुन्छ ।
यसैगरी भरतपुरमा पनि एमालेका उम्मेदवार देवी ज्ञवाली १५ हजार ३ सय ४७ मतका साथ अगाडि हुनुहुन्छ भने माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल १५ हजार ५३ मतका साथ पछ्याईरहनु भएको छ ।
मतगणनामा तलमाथि गरिएको आरोप लगाउँदै भरतपुरमा गएरातीदेखि आज बिहान सम्म मतगणना स्थगित भएको थियो । आज बिहान बसेको सर्बदलीय बैठकमा हरेक सदर र बदर मतको तथ्य सार्वजनिक गर्ने सहमति भएपछि मतगणना सुचारु भएको हो ।
यसैबीचको मकवानपुरको हेटौडा उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ ।