भोक मार्दै ‘लाज’ बचाउँदै

भोक मार्दै ‘लाज’ बचाउँदै

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

घाम तातो पानीझैं उम्लेर पुनर्वासको भुइँभरि पोखिएको छ । वैशाख-जेठको गर्मीमा बरालिएको हावाले ‘लू’को आकृति लिइदिन्छ बेलाबेला । फुको धुलो भुमरीमा मिसिएर कुद्दैछन् पुनर्वासको मैदानी खेतैखेत । गहुँको ठोसामात्रै छन् खेतका गहरामा । त्यही ठोसैठोसामा पैतला बिझाएर अँध्यारोमा रित्तो खेत पुग्छिन्-मनसरा विष्ट । मात्र पिसाब गर्नका निम्ति । किनकि उनी छाउ भएकी छिन् ।छाउपडीलाई चर्पी प्रयोग गर्न रुकावट छ, मनसराको घरमा । छाउको रगतले चर्पी बिटुलाउँछ भनेर चर्पीमा दिसा-पिसाब गर्न दिन्नन् सासूले । छाउ भएको पाँचौं दिन पनि उनी साँझसम्मै पर्खेर अँध्यारोमा पिसाब गर्न खेतका गहरा धाउँछिन् ।

‘चार दिन भया हग्नगया आच्छी,’ मनसराले भनिन् । चौथो दिनसम्म चर्पी नबस्नुको कारण खाना नखाएकोले रहेछ । चार दिनदेखि पानीको भरमा मात्रै बाँचेकी मनसरा भोक मारेरै लाज बचाउन कस्सिएकी छिन् । पातली ज्यानकी मनसरा सासुको जिद्दीअगाडि मौन छिन् ।कटक्क पेट काटेर मुच्र्छा पर्दा मनसरा फाँटिलो रित्तो बारी हेर्छिन् र दुखाइ खप्छिन् । उनकै भाषामा खुला दिसा-पिसाब गर्न ‘लज्जा’ हुने भएकाले दिउँसो शौच गर्न जाँदिनन् । प्राय: अँध्यारो पर्खिन्छिन् कारण-छेकिने झाडी नभएकोले रहेछ ।

चरक्क चर्किएको घाम छल्न गोठको छायामा ओतिँदै थिइन् मनसरा । छाउगोठ हेर्दै उनका कुरा सुन्दैछु । पुनर्वास भानुबस्तीमा कुलघरको पालीसँग जोडिएको छाउगोठ बलेसीमा टाँसिएको छ । बलेसीको ढोका आँगनसँग जोडिएको छ । उक्त ढोकाको बाहिरबाट कुन्डी लागेको छ । मनसरा भने त्यही बलेसीसँग टाँसिएको छाउगोठमा ओत लिन गोठको पछिल्लो झ्यालबाट भित्र-बाहिर गर्छिन् । त्यो झ्याल मनसराको लागि ढोका भएको छ । मूल ढोकाबाट देउपितृहरू आउने-जाने गर्ने हुनाले पछिल्लो झ्यालमा टोलाइरहन्छिन्, छाउपडी मनसरा ।

‘ज्यु दिनानाइ घर बस्साखीं, देउका लागि हामु गोठ बस्सुपड्या छ सर,’ रसाएको मनलाई गलामा भर्दै भक्कानिइन् मनसरा । दुपट्टाको छेउले आँखा पुछिन् । जीर्ण परेको गोठ र धमिराले मक्किएको छानोमुनि ओत पाउनुमै गर्व गर्छिन् मनसरा । गाईभैंसीको गोठ बरु सफा देखिन्थ्यो तर छाउगोठ सफा थिएन । नुहाउन-धुहाउन मनसरा घरको धारा चलाउँदिनन् । नजिकैको सरकारी स्कुलको धारामा जान्छिन् । त्यो पनि स्कुल छुट्टी भएको दिनमात्रै । तिर्खाएको बेला चिसो पानी पिउन नपाउँदाको पीडा कोट्याउँदै सुकेको घाँटी थुकले भिजाउँदै परपर हेर्दै थिइन् ।

उनले प्रयोग गर्ने केही कपडाको धरा र बेलामौकामा किन्ने प्याडलाई प्लास्टिकको थैलोमा जम्मा पारेर मलखातमा फाल्न खोज्दा उनकी सासूले हकारेकी रैछिन् । सासूले फोहोर जलाउन लगाइछिन् । मनसराले खेतको गहुँका ठोसा जम्मा पारेर फोहोर जलाएर गोठ फर्किन लाग्दा सासूले खरानी उठाउन लगाइछिन् । मनसराले किन ? भनेर सोधिन् । सासूले ‘मुख-खेलाइ’ भनेर धारेहात लाइछिन् । मन नमानी नमानी मनसराले खरानीलाई प्लास्टिकको थैलामा हालेर गाडिछिन् । त्यसो नगरे अन्नबालीमा कीरा लाग्न सक्छन् रे । दुहुना गाई भैंसीले टेक्यो भने गाईभैंसी मर्न सक्छन् रे । चर्पी हँदो रगत झरे देउ पितृ बिगार गर्न सक्छन् रे । अथवा कुलले दु:ख दिन सक्छन् रे ।

साँघुरो गोठको चार भित्ताभित्र लुक्नुमात्रै सीमित थिएन । महिलामाथि हुने थिचोमिचो र अज्ञात मनुवाको त्रास पनि उत्तिकै हुन्थ्यो । साँप, कीरा र जंगली जनावरको त्रास पनि यथावत् छँदैछ । पुनर्वास हरियाली टोलसँग जोडिएको सामुदायिक वनबाट आउने जंगली हात्तीको भय अझै बढी छ । तैपनि छाउ भएका महिलाहरू घरदेखि दस मिटर परको छाउगोठमा रात काट्छन् । गोठमा सुत्नु पनि ठूलै धर्म कमाएको भान छ, केही चेलीबेटीलाई । तिनलाई यस्तो अवस्थामा देखेपछि मनै भक्कानिएर आउँछ ।

‘चार दिन भया हग्नगया आच्छी,’ मनसराले भनिन् । चौथो दिनसम्म चर्पी नबस्नुको कारण खाना नखाएकोले रहेछ । चार दिनदेखि पानीको भरमा मात्रै बाँचेकी मनसरा भोक मारेरै लाज बचाउन कस्सिएकी छिन् । पातली ज्यानकी मनसरा सासूको जिद्दीअगाडि मौन छिन् ।

सन्तान प्राप्तिको खुसीका लागि प्रत्येक छोरी आमा हुन्छिन् । तर, तिनै आमालाई कलिला शिशुसहित गोठमा राखिन्छ यहा“ । परालको त्यान्द्रो बिछ्याइन्छ झ्याल नभएको गोठमा । माघको जाडो छल्ने अगेनु भरभराइरहन्छ, धु“वा आवत्जावतसमेत नहुने गोठमा । गोठमा कयौं आमा र बच्चा निस्सासिएका छन् । पुनर्वासको मोती बस्ती पुग्दा धौली सार्की गोठको चिसो भुइ“को कष्ट झेलेर बच्चालाई बचाउन खोजिरहेका थिइन् । सासूआमैको करकापले उनी पिढीँमा बिछ्याएको इँटामा टेकेर बाहिरिँदै थिइन् । सात दिनको सुत्केरी शरीरले दूधेबालक समाएर इँटामा टेक्दै हिँड्नु आफैंमा ठूलो चुनौती थियो । उनी आफ्ना गोडा चिप्ल्याउनबाट बचाउँदै थिइन् । भुइँ छोयो भने पूरै घर अछूत बन्थ्यो ।

एकातिर शरीरले झेल्ने रक्तअल्पता, कुपोषणजस्ता रोगले थलिनु । अर्कोतिर भूतप्रेतबाट बचाउन, कुलदेउता र हतियारको आड लिन तयार भए पनि गोठमा सुतेकी सुत्केरी आमा र छाउपडी महिलालाई कुलघरसम्म बोलाउन गाह्रो मान्नु आफैंमा भयानक थियो । धर्मको आडमा देउताको खातिर सुदूरपश्चिम र मध्यपश्चिमका कयौं सुत्केरी आमा छाउगोठको कष्ट व्यहोरिरहेका छन् ।

देउपितृ जोगाउन लागिने समाजको अघि मौन छन् यहा“का महिला । त्यही सामाजिक परम्परा आज पनि पछ्याउँदै भुइँमा इँटा ओछ्याइन्छ र सुत्केरीलाई भुइँ नछोइने गरी हिँडाउन लगाइन्छ । सुत्केरी भएको १३ देखि २२ दिनसम्म भुइँमा टेक्दा पापको भारी बोकिन्छ भन्ने मान्यता छ यहाँ । सँगै सुत्केरीलाई पोषिलो खानेकुरा-दूध, दही, मही, घिउबाट समेत वञ्चित गरिन्छ ।

विद्रोहको आवाज उठाउन पनि यहाँका महिला बुज्रुगलाई सोध्छन् । देउपितृले श्राप दिन सक्छन्, भुइँ टेक्दा कुनै अनिष्ट हुन सक्छ भन्ने भयले उनीहरूको मनमा डेरा जमाएको छ । देउले दिने दु:खले मानिस सचेत छन् । तर, छाउले दिएको दु:खप्रति भने कुनै मन्खत छैन । पुनर्वास महेन्द्रबस्तीका कैले रावत गोठ भत्काउन चाहन्छन् । तर, गोठको संरचना भत्काउन उनीभित्र गडेर बसेको देउको डर मान्छन् ।
देउताको डर र अन्धविश्वासले ग्रस्त मध्य, सुदूरपश्चिमका कयौं गाउँका आधुनिक युवायुवतीसमेत पीडित छन् । स्कुल जाने उमेरमा अँध्यारो ‘कालकोठरी’जस्तो लाग्ने गोठमा हप्तौं बिताउँछन् । बयान गर्नै नसक्ने पीडासँग जुधेर पनि उकाली-ओराली गरिरहेका छन् चेलीहरू । रुढिवादी परम्परालाई धर्मले प्र श्रय दिन्छ । धर्मकै आडमा सामाजिक कुप्रथा सधैं ज्यँका त्यँ छ । यसले शदीऔंदेखि मध्य र सुदूरपश्चिमका कयौं महिला शारीरिक तथा मानसिक यातना व्यहोर्दै आइरहेका छन् ।

कञ्चनपुर पुनर्वास नगरपालिकाले यस क्षेत्रलाई खुला दिसामुक्त घोषणा गरे पनि छाउगोठ मुक्त क्षेत्र घोषणा गर्न सकेको छैन । पछिल्लो समय पुनर्वास नगरपालिकाले छाउगोठ भएका समुदायमा अनुगमन गर्दै गोठ गणना गरी छाउपडी न्यूनीकरण हुने अभियान चलाउँदै आएको बताउँछिन् नगरपालिकाकी सामाजिक विकास अधिकृत नारायणी अधिकारी ।

२०७० मा पुनर्वास महेन्द्रबस्तीको तीन सय घरधुरीमा छाउगोठ भेटिन्थ्यो । हाल त्यस बस्तीमा फट्टफुट्टमात्र गोठ देखिन्छन् । पुरुषले गोठ भत्काउने हिम्मत गरे पनि छाउपडी महिलालाई देउघरमै सुताउन अझै डर मान्छन् । ‘भौतिक गोठको संरचना भत्काए पनि मानसिक गोठ भत्काउन नसकिएको हो,’ स्थानीय पत्रकार धनबहादुर विक बताउँछन् ।

समाज तब सभ्य र संस्कारयुक्त हुन्छ जब समाजको अन्धविश्वास र कुसंस्कार हट्दै जान्छन् । एक्काइसौं शताब्दीमा पनि मध्य र सुदूर पश्चिमका छाउपडी महिलालाई छाउगोठबाट मूलघरसम्म ल्याउन नसक्नुलाई पुरुषप्रधान समाजले गरेको राजनीति भन्नुपर्छ । -राज सरगम (अन्नपूर्णा पाेष्टबाट )

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ