५ जेठ,विनायक ।
नेपाल कम्युनिस्ट पार्टीले माल्कोट घटनाको विरोध गर्दै अछामका विभिन्न स्थानहरुमा शोकसभा तथा चुनाव खारेज अभियान सुरु भएको छ ।
दोस्रो चरणको चुनावलाई केन्द्रीत गरेर जिल्लाको तुर्माखाँदमा शुक्रबार जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
तुर्माखाँद बजारबाट निस्केको र्याली सभामा परिणत भएको थियो । सभालाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अार.पी. तिमिल्सना र अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष डम्बर रावललगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
अहिलेको चुनावले संसदीय व्यवस्थालाई पुनर्स्थापना गर्ने भएकाले अाफ्नो पार्टीले खारेज गरेको नेता तिमिल्सिनाले बताए ।
बैशाख ३१ गते भएको चुनावमा कालिकोटको माल्कोट प्रहरीको गोली लागेर धनरुप बटालाको मृत्यु भएको थियो । सोही घटनाको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले शुक्रबार देशभर शोकसभा गरेको छ ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी दाङका सचिवालय सदस्य शेर बहादुर राणा ज्वालाको स्मृतिमा आज श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको छ । असामयिक दिवंगत हुनुभएका ज्वालाको नवौं दिनको अवसरमा नेकपा दाङद्वारा आयोजित श्रद्धान्जली सभा कार्यक्रममा बोल्ने वक्ताहरूले कम्युनिष्ट आन्दोलनका एक धरोहर क्रान्तिकारी योद्धा गुमाएको बताएका छन् । उहाँको मृत्युले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षेती पुगेको समेत बताएका छन् ।
सभाका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सितलले कम्युनिष्ट आन्दोलन बचाइराख्न दिवंगत ज्वालाले खेलेको भूमिका अविस्मरणीय रहेको बताउनुभयो । अहिले फेरी संसदीय व्यवस्था फर्कनु ज्वालाको सपना थिएन भन्दै सितलले उहाँको बाकी सपना तथा लक्ष्य पूरा गर्न सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी सविन पोख्रेलको अध्यक्षतामा भएको सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका अर्का केन्द्रीय सदस्य असल क्षेत्रीले वर्ग दुश्मनका लागि शेरबहादुर राणा कमरेड ज्वाला साच्चिकै शेर अनि ज्वाला रहेको उल्लेख गर्नुभयो । पार्टीका विशेष कमिटि सदस्य तथा दिवंगत ज्वालाका काइला छोरा गोकुल राणा महानले बुवाको जीवनीबारे प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा कांग्रेसका प्रतिनिधि गंगाराम केसी, एमालेका प्रतिनिधि नन्दलाल वली, माओवादी केन्द्रका प्रतिनिधि सुशील क्षेत्री, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य जानकी दहित, दिवंगत ज्वालाका जेठा छोरा सुरेन्द्र राणा लगायतले श्रद्धान्जली मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सन्चालन नेकपाका जिल्ला सचिवालय सदस्य प्रदीप वलीले गर्नुभएको थियो ।


