बनेपा , ५ जेठ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणको स्थानीय चुनावको परिणामले एमाले कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने देखाएको बताउनु भएको छ ।
इतिहासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेपछि विजय उत्सवमा सहभागी हुन बनेपा पुगेका ओलीले आफुहरुले जनतालाई बुझाउन नसक्दा काग्रेसलाई बढी मत गएको बताउनु भयो ।
उहाँले भन्नुभयो , कुनै सिद्धान्त र बिचारबाट च्यूत भइसकेको कांग्रेसको बारेमा जनतालाई प्रष्ट पार्न बाँकी नै रहेछ, हामीले अझै मेहनत गर्नुपर्छ ।
उहाले एमालेले राष्ट्रियताको पक्षमा अडान लिएर थुप्र काम गरेको भएपनि एमालेकै हाराहारीमा स्थानिय निर्वाचनमा काग्रेसको जित भएको भन्दै कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले चुनावमा सत्तारुढ दलले आतंक मच्चाए पनि एमालेले एक ठाउँमा पनि आतंक नमच्चाएको दाबी गर्नुभयो ।
उहाँले एमालेले अब बनेपालाई आधुनिक शहर बनाउने दाबी गर्नुभयो ।
नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागी हुन एमाले अध्यक्ष केपी ओली बनेपा पुग्नुभएको हो ।
बनेपाको मेयरमा एमालेका उम्मेदवार लक्ष्मी नरसिंह बादेले ९ हजार ६ सय १७ मत पाएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी राम जोशीले ८ हजार २ सय ७१ मत पाउनु भएके थियो ।
वनेपाको वडा न ३, ४, ५, ६, ७, १०, ११, १२ र १३ वडाध्यक्ष एमालेले जितेको छ भने वडा नम्बर १, २, ८, ९ र १३ मा कांग्रेसले जितेको छ ।