५ जेठ, काठमाडौं ।
स्थानिय तह पहिलो चरणको निर्वाचन भएका तीन प्रदेशका २८३ स्थानीय तहमध्ये ४ महानगरपालिका र ९२ गाउँपालिकामा हालसम्म जम्मा ३ जना महिला मात्र मेयरमा निर्वाचित भएका छन् ।
९२ नगरपालिकामध्ये पुरुषसँग प्रतिस्पर्धा गरेर मेयर जित्ने महिलामा जुम्ला चन्दननाथ नगरपालिकाकी कान्तिका सेजुवाल, नवलपरासी कावासोती नगरपालिकाकी चन्द्रा पुन र स्याङ्जा पुतलीबजारकी सीमी क्षेत्री हुन् ।
यी मध्ये चन्द्रा पुन र सीमा क्षेत्री एमालेका हुन् भने कान्तिका सेजुवाल कांग्रेसकी उम्मेदवार हुनुहुन्छ । त्यसमध्ये नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा चन्द्रा पुन विजयी हुनुभएको छ ।
मधेसी, थारु र पहाडे मिश्रति बसोबास रहेको कावासोती जस्तो ठूलो नगरपालिकामा चन्द्राले १३ हजार ४१ मत प्राप्त गरी कांग्रेसका महेन्द्र पोखरेललाई पराजित गर्नुभएको हो ।
राजनीतिमा लागेर निरन्तर महिला आन्दोलनको अगुवाई गर्नुभएकी पुन अविवाहित हुनुहुन्छ ।
यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयरको नेतृत्व पनि महिलाले नै गर्ने भएकी छन् । शिक्षकबाट अवकाश भएपछि एमालेको राजनीतिमा सक्रिय सीमा क्षेत्री पुतलिबजारको मेयरमा निर्वाचीत हुनुभएके हो ।
उहाँले १० हजार २४९ मत प्राप्त गरेर पुतलीबजार नगरपालिकाको मेयर जित्दा कांग्रेसका प्रभावशाली नेता तुलसीराम रेग्मी १० हजार २० मतमा रोकिनुभयो ।
त्यसैगरी कर्णाली जस्तो पिछडिएको क्षेत्रबाट मेयर कान्तिका सेजुवाल विजयी हुनुभयो । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वा्चित कान्तिका सेजुवाल कांग्रेसका पूर्व जिल्ला सभापति मानव सेजुवालकी पत्नी हुनुहुन्छ । जुम्लाका लोकप्रिय नेता सेजुवालको विमान दुर्घटनामा मृत्यु भएको थियो ।
कान्तिकाले चन्दननाथ नगरपालिकाको मेयरमा २ हजार ७७७ मत प्राप्त गरी एमालेका शान्तिलाल महतलाई पराजित गर्नुभएको हो ।
अब चर्चामा रहेको भरतपुर महानगरपालिकामा रेणु दाहाल बाहेक अन्य महानगरमा मेयर जित्ने सम्भावना भएका कुनै पनि दलले महिला उम्मेदवार दिएका छैनन् ।
पोखरामा राप्रपाकी गीता गुरुङ मेयरको प्रतिस्पर्धामा धेरै पछाडि परिसक्नुभएको छ । काठमाडौंमा विवेकशील दलकी रन्जु दर्शना तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरनुभएको छ ।
उपमहानगरपालिका हेटौंडामा पुरुषबीच नै प्रतिस्पर्धा भइरहेको छ ।