बैतडि ,४ जेठ ।
कर्तव्य ज्यानमुद्दामा बैतडीमा एक ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । चारजनाको हत्या गरी ३२ वर्षदेखि फरार पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे भट्टलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए । प्रहरीले ८० वर्षीय भट्टलाई सोमबार मात्रै घरमा रहेका वेला पक्राउ गरेको हो ।
भट्टले ०४२ भदौ १७ गते राति पुर्चौडी नगरपालिका–१० विजयपुर बरायलगाडा बस्ने ६५ वर्षीय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थीसहित चारजनाको खुकुरी प्रहार गरी हत्या गरेका थिए । सदरमुकाम गोठलापानीबाट फर्किंदा रात छिप्पिएको भनी उनी अवस्थीको घरमा वास बसेका थिए । सोही राति धनमाल लुट्न भट्टले अवस्थी परिवारका चारजना सदस्यको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । जिल्ला अदालत बैतडीले ०५१ भदौमा भट्टलाई २० वर्षे कैद सुनाएको थियो ।
भट्टलाई २० वर्ष जेल चलान गर्न पुनरावेदन अदालत महेन्द्रनगरले ०५२ साल भदौ १४ गते र सर्वोच्च अदालतले २०५३ साल वैशाख १३ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो । घटना भएदेखि नै फरार उनी भारतका विभिन्न ठाउँमा लुकेर बस्दै आएका थिए । जेल चलान भएका भट्टको अवस्था भने अहिले निकै दयनीय रहेको प्रहरीले बताएको छ । भट्टलाई कसैको सहाराले हिँड्डुल गराउनुपर्छ । जिल्ला करागार बैतडीका जेलर अनिल तिवारीले बिहानदेखि साँझसम्म उनलाई कसैको सहारा आवश्यक छ । -नयाँपत्रिका दैनिकबाट