कोलम्बो , १ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि स्वदेश तथा विदेशमा बसेका सबै नेपाली एकताबद्ध भएर लाग्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।
आफ्नो सम्मानमा आज श्रीलङ्कास्थित नेपाली राजदूतावासले होटल हिल्टनमा आयोजना गरेको समारोहमा उहाँले भन्नुभयो, “नेपालको शान्ति, स्थिरता र विकासलाई अगाडि बढाउन विदेशमा रहेका नेपालीको योगदान आवश्यक रहेको छ, संसारभरिका गैरआवासीय नेपालीलाई एकताको सूत्रमा बाँध्ने चाहना नेपाल सरकार र राजनीतिक दलहरुको छ ।”
राष्ट्रपति भण्डारीले शान्ति, स्थिरता र विकासका लागि संविधान कार्यान्वयन आवश्यक भएकाले नेपाल सरकार यस कार्यमा लागिपरेको चर्चा गर्दै शान्ति र स्थायित्वबिना मुलुकको आर्थिक विकास हुन नसक्ने भएकाले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीले यसतर्फ सोच्नुपर्दछ भन्नुभयो ।
श्रीलङ्कामा नेपाली सांस्कृतिक केन्द्र खोल्नका लागि आफूले आवश्यक पहल गर्ने बताउँदै उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल र आफ्नो पुरानो इतिहासका दौरान लामो सामुद्रिक मार्गमार्फत विभिन्न सभ्यतासँग अन्तक्र्रिया गर्ने हिन्द महासागरको विलक्षण मोतीसमान रहेको श्रीलङ्काबीच शताब्दीऔँदेखि सुमधुर सम्बन्ध रहिआएको छ, यातायात र सञ्चार सञ्जालको विस्तारमार्फत यस सम्बन्धलाई थप सुदृढ तुल्याउनु आवश्यक छ भन्नुभयो ।
राष्ट्रपति भण्डारीले मित्रता र सहयोगको हाम्रो द्विपक्षीय सम्बन्ध सामाजिक, सांस्कृतिक र धार्मिक निकटताबाट अभिप्रेरित रहेको चर्चा गर्दै नेपालका विलक्षण विभूति गौतम बुद्धको दर्शन र सन्देश हाम्रा दुई मुलुक र जनताकाबीच सम्बन्ध स्थापनाका निमित्त आधारका रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेल, राष्ट्रपति कार्यालयका वैदेशिक मामिला विज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल तथा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।
कार्यक्रममा श्रीलङ्कामा विभिन्न पेसा तथा व्यवसाय गरी बस्ने प्रवासी नेपालीले राष्ट्रपति भण्डारीलाई सम्मान गरेका थिए ।
यस्तै, राष्ट्रपति भण्डारीको सम्मानमा आजै यहाँस्थित नेपाली राजदूतावासले कोलम्बोस्थित होटल हिल्टनमा रात्रिभोजको आयोजना गरेको थियो । सो अवसरमा राजदूत प्याकुरेलले राष्ट्रपतिलाई स्वागत गर्नुभएको थियो ।
रात्रीभोजमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीलगायत राष्ट्रपति भण्डारीको भ्रमण दलका सदस्यको सहभागिता थियो ।