काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले श्रीलंकाको शिलोन कम्युनिस्ट पार्टी (माओवादी)का पूर्वमहासचिव अजित रुपासिंगे सुरेन्द्रको निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले एक विज्ञप्ति जारी गरेर श्रीलंकाको माओवादी पार्टीलाई एकतावद्ध गर्न ठूलो भूमिका खेलेका सुरेन्द्रको निधनले विश्व कम्युनिस्ट आन्दोलनमै क्षति पुगेको बताएका छन् ।
सन् १९४३ मा जन्मेका नेता सुरेन्द्रले नेपालको जनयुद्धलाई सुरुदेखि नै समर्थन गर्दै आएको बास्तोलाले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले माओवादी नेता सुरेन्द्र अन्तिमसम्म अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी लाइनमा प्रतिवद्ध रहेको बताए ।
श्रीलंकाको शिलोन कम्युनिस्ट पार्टीका महासचिव एन.सन्मुगथाशनको निधनपछि नेता सुरेन्द्रले उक्त जिम्मेवारी समालेर पार्टीको मार्गदर्शक सिद्धान्त मालेमावाद बनाउँदै पार्टीको नाम शिलोन कम्युनिस्ट पार्टी (माओवादी) राखेका थिए । उनले फुट र विभाजनमा रहेको श्रीलंकाको माओवादी पार्टीलाई एकतावद्ध समेत गरेको बास्तोलाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
संयुक्त राज्य अमेरीमाका अध्ययन गर्ने समयमै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा लागेका नेता सुरेन्द्र सिंहाला जातिबाट आएर तमिल जनताको आत्मनिर्णयको समर्थन गरेका थिए ।
“हाम्रो पार्टी कमरेड शुरेन्द्रको निधनप्रति गहिरो समबेदना प्रकट गर्न चाहन्छ र शिलोन कम्युनिष्ट पार्टी (माओवादी) प्रति शोकलाई शक्तिमा बदल्ने अमियानमा ऐक्बद्धता जाहेर गर्दछ” अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख बास्तोलाले विज्ञप्तिमा भनेका छन् ।
उनको गत अप्रिलमा निधन भएको थियो ।