रामेछाप ,३१ बैशाख ।
रामेछापको दोरम्बा गाउँपालिकामा पर्ने टोकरपुरको पुन्चेतमा रहेको कालिका भवगति मतदान केन्द्रको मतदान कार्य स्थगित गरिएको छ ।
मतदान भइरहेको वेला माओवादी केन्द्र र नेपाली कांग्रेस कार्यकर्ताको झडपका कारण मतदान प्रक्रिया स्थगित गरिएको हो । झडप भएपछि प्रहरीले एक राउण्ड हवाइ फायर र एक सेल अश्रुग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको छ ।
झडपमा सम्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा एक जना सामान्य घाइते भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनु भयो । केन्द्रमा थप सुरक्षा फौज परिचालन समेत गरीएको छ ।
झडप भएपछि उक्त केन्द्रको मतदान कार्य ३ घण्टादेखि रोकिएको निर्वाचन अधिकृत प्रेमचन्द्र भुषालले जानकारी दिनु भयो । १ सय ६७ जनाले मतदान गरेपछि मतदानको कार्य स्थगित भएको हो ।
भूसालले मतदान केन्द्र सामान्य अवस्थामा आइसकेको र पुन मतदानको लागि सर्वदलिय बैठक राख्ने पहल भइरहेको बताउनु भयो । रामेछापका अन्य मतदान केन्द्रमा उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ ।