सुनसरी ,३१ बैशाख ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुनसरीले गिरफ्तार गरिएका आफ्ना नेता तथा कार्यकर्ताको अविलम्ब रिहाईको माग गर्दै रिहा नगरे कडा संघर्ष घोषणा गर्ने चेतावनी समेत दिएको छ ।
सुनसरी जिल्ला इन्चार्ज प्रज्वलले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सचिव उदय राई ‘युगेन’ र जिल्ला सदस्यहरु सदस्य खडगकुमारी राई, सुरज राई अमृत लिम्बू साधारण सदस्य मिना धामीलगायत ७ जनालाई पूर्वघोषित शान्तिपूर्ण राजनीतिक कार्यक्रममा सहभागी भइरहेको बेला प्रहरीले गैरकानूनी रुपमा गिरफ्तार गरी हिरासतमा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
प्रहरीले सबै जनालाई शुक्रबार दिउँसो बरह नगरपालिका ८ महेन्द्रनगरबाट गिरफ्तार गरेकाे थियो । सचिव राई नेकपा कोशी ब्यूरो सदस्य समेत हुन् । गिरफ्तार गरिएका नेता–कार्यकर्ताहरुलाई आफन्तसँग समेत भेट गर्न नदिइएको बताएका छन् ।
‘नेपाल कम्युनिस्ट पार्टीले कथित स्थानीय तहको निर्वाचन खारेजीका लागि तीन महिने एकीकृत जनजागरण तथा प्रतिरोध अभियान संचालन गरिरहेको छ’ जारी विज्ञिप्तमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ‘स्थानीय तहको निर्वाचन असफल भइरहेको अवस्थामा संसदीय व्यवस्था खारेज गर्न, जनताको अधिकार र मुक्ति तथा राष्ट्रिय स्वाधीनताको रक्षाको लागि जनतासँग घर दैलो कार्यक्रम गरिरहेको बेला राजनीतिककर्मीलाई गिरफ्तार गर्नु सरकारको फासिवादी चरित्र हो । यसको घोर भत्सर्ना गर्दछौं ।’
गिरफ्तार गरिएका सम्पूर्ण नेता कार्यकर्तालाई बिनासर्त अविलम्ब रिहा नगरे कडा संघर्षमा जान बाध्य हुने चेतावनी इन्चार्ज प्रज्वलले उत्त विज्ञप्तिमार्फत दिएका छन्।