काठमान्डौ ,वैशाख ३०।
थाइल्यान्ड र श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा थाइल्यान्डमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान श्रीलङ्का प्रस्थान गर्नु भएको छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ त्यस तर्फ प्रस्थान गर्नु भएको हो ।
बुद्धजयन्तीका अवसरमा भएको संयुक्त राष्ट्रसङ्घीय भेसाक सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । हिजो देखि श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु भएको सो सम्मेलनको समापन भोली श्रीलङ्काकाको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ ।
श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग पनि भेटवार्ता गर्र्नुका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नुका साथै श्रीलङ्कास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्नुहुने छ ।
यस अघि हिजो थाइल्याण्डमा रहदा भण्डारीले बैकक स्थित ग्रान्ड प्यालेसमा दिवंगत थाई नरेश भूमिबल अदुल्यादेज प्रति श्रद्धान्जली अर्पण गर्नु भएको थियो ।
भण्डारी दूइ देशको पाँच दिने औपचारिक भ्रमण सकाएर आगामी मंगलबार स्वदेश फर्कदै हुनुहुन्छ ।