रामेछाप, बैशाख ३० ।
भोलि बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनको मुखैमा जिल्ला प्रहरी कार्यालय रामेछापले १३ जना युवाविरुद्ध सार्वजनिक अपराध सजाँय ऐनअन्तर्गत मुद्दा अगाडि बढाएको छ । चुनाव आउन दुई दिन बाँकी छँदा काठमाडौं उपत्यका र अन्य जिल्लाबाट रामेछापमा आएका १३ जना युवाविरुद्ध प्रहरीले कारबाही अघि बढाएको हो ।
उनीहरूलाई प्रहरीले बिहीबार लिखु गाउँपालिकाको खिम्ती बजारबाट पक्राउ गरेको थियो । उनीहरूलाई बिहीबार नै म्याद थप गरी मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये अधिकांश उपत्यकाभित्रका र केही भने उपत्यका बाहिरका काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर र पाँचथरका रहेका रामेछापका प्रहरी प्रमुख कुमुद ढुँगेलले जानकारी दिए ।
निर्वाचनको समयमा शान्ति सुरक्षालाई खलल पुर्याएको भन्दै उनीहरूविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको हो । बिहीबार १० वटा मोटरसाइकलमा आएका २० जना युवा मध्ये सात जना भने भाग्न सफल भएका प्रहरीले जनाएको छ ।