भोलि बिहान ५ देखि ७ बजेसम्म सार्वजनिक तथा निजी साधन चलाउन निषेध

भोलि बिहान ५ देखि ७ बजेसम्म सार्वजनिक तथा निजी साधन चलाउन निषेध

  • शनिबार, बैशाख ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, बैशाख ३० ।
यसअघिका चुनावमा जस्तै यसपटक पनि स्थानीय तह निर्वाचनको मतदानका दिन भोलि आइतबार सवारीसाधन सञ्चालन निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा सवारीसाधन चलाउन निषेध गर्ने निर्णय गरिसकेको छ । यसपटक मतदानको दिन बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सार्वजनिक तथा निजी सवारीसाधन ठप्प हुुनेछन् ।

तर, मतदाता परिचयपत्र लागू गरेपछि सवारीसाधन सञ्चालन गर्न निषेध गर्नु उचित नभएको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । ‘मतदानका दिन सवारीसाधन सञ्चालन ठप्प पार्ने हाम्रोमा परम्परा नै बनेको छ । विगतमा यो स्वाभाविक पनि थियो किनभने एउटा मतदाताले धेरै ठाउँ पुगेर मत हाल्नसक्ने सम्भावना रहन्थ्यो’, केही समयअघि राजनीतिमा सक्रिय रहनुभएका खनाल भन्छन्, ‘मतदाता परिचयपत्र लागू भइसकेको अवस्थामा अब सवारीसाधन निषेध गर्नु आवश्यक छैन ।’

विदेशमा मतदानका दिन बिदासमेत दिन छाडिएको उल्लेख गर्दै उनले नेपालले पनि अब यस्ता कुरामा ध्यान दिनुपर्ने बताए । ‘विदेशमा हुने अभ्यासबाट पनि हामीले राम्रा कुरा सिक्नुपर्छ । निर्वाचनको व्यवस्थापनलाई हाउगुजी बनाउनु हुँदैन’, उनले भने ।

खनालको भनाईमा पूर्वराजदूत जयराज आचार्य पनि सहमति जनाउँछन् । आचार्य भन्छन्, ‘सुरक्षा व्यवस्थापनका दृष्टिले सवारीसाधन ठप्प पार्न लागिएको हो भने यसबारे पुनर्विचार गर्नुपर्छ ।

हामीले सर्वसाधारणको आवागमन सहज बनाउनुपर्छ । बरु सबैलाई आवतजावत सजिलो बनाईदिनुपर्छ ।’ आचार्यले आफू जापान र थाइल्याण्ड बस्दा मतदानको दिन सवारी सञ्चालनमा कुनै रोकटोक नभएको अनुभव सुनाए ।

देशमा मतदानका दिन सवारीसाधन सञ्चालन ठप्प पार्ने परम्परा नै बनिसकेको छ । अस्पताल, प्रेस, पर्यवेक्षक, सुरक्षा निकाय, कूटनीतिक नियोग, विशिष्ट व्यक्ति, उम्मेदवारलगायत केही सीमित वर्गलाई बाहेक अरूलाई सवारीसाधन सञ्चालन गर्न दिइँदैन ।

उनीहरूले सवारी सञ्चालनका लागि आयोगबाट अनिवार्य रूपमा अनुमति लिएको हुनुपर्छ । यसपटक पनि त्यही परम्पराले निरन्तरता पाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा मानिसको आवतजावत रोक्न र सुरक्षा व्यवस्था व्यवस्थित बनाउन सवारी सञ्चालनमा कडाइ गरिएको बताउँछन् ।

‘सुुरक्षा र एउटा मतदान केन्द्रबाट अर्को मतदान केन्द्रसम्म हुने ओहोरदोहोरलाई ध्यानमा राखेर सवारी सञ्चालन नियन्त्रणमा ध्यान दिइएको हो’, प्रवक्ता शर्माले भने ।

उम्मेदवारको हकमा निर्वाचन अधिकृतको सिफारिसमा सम्बन्धित जिल्लाको प्रमुुख जिल्ला अधिकारीले अनुमति दिएपछि उनीहरूले सवारीसाधन प्रयोग गर्न पाउनेछन् ।

‘तर उम्मेदवारको हकमा निर्वाचन अधिकृत र प्रजिअले वस्तुुस्थिति हेरेर विवेक प्रयोग गरी निर्णय गर्न सक्नेछन्’, प्रवक्ता शर्माले भने ।

सुरक्षालाई ध्यानमा राख्दै गृह मन्त्रालयले भारतसँग सीमा जोडिएका निर्वाचन हुने जिल्लामा ७२ घण्टा सीमाना बन्द गर्ने निर्णय गरिसकेको छ । आयोगले असम्बन्धित व्यक्ति पास लिएका सवारीसाधनमा चढाएको फेलापरे कारबाही हुने जनाएको छ ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुवेरसिंह राना मतदानको दिन सवारी सञ्चालन गर्न दिनु पुनरावलोकनको विषय भए पनि तत्काल सुरक्षा व्यवस्थापन तयार भइनसकेको बताउँछन् ।

‘सधैँ उही परम्परामा चलेर मात्र हुँदैन तर नयाँ गर्छु भन्दा त्यसका लागि हामी तयार पनि हुनुपर्छ ।

सवारी सञ्चालन गरी मतदान सञ्चालन गर्न सक्ने गरी हाम्रो सुरक्षा व्यवस्थापन तयार भइसकेका छैनन् । हामीले प्रविधि प्रयोग गर्न सकेका छैनौं । जनशक्ति पनि पर्याप्त छैन’, उनले भने ।
आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ