काठमाडौं, बैशाख २९ ।
चुनावको मुखमा मेयरका उम्मेदवारसहित सबै एमालेमा प्रवेश गरेका छन् । चाँगुनारायण नगरपालिकामा नेकपा मालेका तर्फबाट उम्मेदवार बनेका सबै नेकपा एमालेमा प्रवेश गरेको छ । नगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारलाई एमालेका सचिव योगेश भट्टराईले चाँगुनारायणमा बुधबारआयोजित एक कार्यक्रममा माला र टीका लगाएर प्रवेश गराएका छन् ।
नेकपा (माले) का तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएका साधुराम दाहाल, उपप्रमुखकी उम्मेदवार लक्ष्मी मगराती, वडा नम्बर चारका अध्यक्ष रामराज मगराती, सदस्य हरीशरण मिजार, विदुर मिजार, अजय मगराती र सिता मिजार एमालेमा प्रवेश गरेका हुन् ।
त्यस्तै गरी वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार सुरज बयलकोटी, इश्वर बयलकोटी, प्रकाश मगराती, राजाराय बयलकोटी एमाले प्रवेश गरे । यसैगरी रमेश बुढाथोकी पनि एमालेमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरूले नेकपा (एमाले) मात्रै अबको सच्चा देशभक्त र नेपालीको भावनाको कदर गर्ने पार्टी भएको बताएका छन् ।
नेता भट्टराईले चाँगुनारायणमा एमालेका तर्फबाट उम्मेदवार बनेका सोम मिश्र बौद्विक र जनताबीच चर्चित उम्मेदवार भएको बताए । उनले कांग्रेसले पैसाका भरमा जनता प्रभावित पार्न खोजे पनि एमालेको जीत निश्चित भएको बताएका छन् । एमालेले युवा, महिला, दलित तथा अन्य वर्ग र समुदायको हितमा संधै काम गर्ने भएकोले एमाले जनताको सच्चा पार्टी भएको बताएका छन् । उनले एमालेले सरकार चलाउन पाए नेपाललाई समृद्व र सुन्दर बनाउने बताएका छन् ।
मेयरका उम्मेदवार सोम मिश्रले नगरकोट तथा चाँगुनारायणजस्तो सुन्दर र ऐतिहांसिक ठाउँ एमालेले देशकै सुन्दर र आकर्षक गन्तब्य बनाउने बताए ।