मिसकलबाट बनेका प्रेमीले गरे प्रेमीकाको हत्या

मिसकलबाट बनेका प्रेमीले गरे प्रेमीकाको हत्या

  • बिहिबार, बैशाख २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, बैशाख २८ ।
काभ्रे जिल्लाको महाकाल चौरकी २८ वर्षीया लक्ष्मी तामाङले सन्चो बिसन्चो सोध्न साउदीमा रहेका श्रीमान्लाई फोन गरिन् तर त्यो फोन गल्तीबस सिन्धुपाल्चोक इन्द्रावतीका ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनालाई परेछ ।

वैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेका बद्रीले आफू पनि सिन्धुपाल्चोक निवासी भएको जानकारी गराएपछि लक्ष्मी र उनी बीच नियमित फोन सम्पर्क हुन थाल्यो । फोनबाट उनीहरूबीच माया पिरतीका कुरा मात्र नभई आर्थिक लेनदेनसमेत हुन थालेछ ।

साउदीमा रहेका बद्री र काभ्रेमा रहेकी लक्ष्मीबीचको फोन प्रेम सम्बन्ध करिब १८ महिनासम्म जारी रह्यो । यो अवधिमा बद्रीले लक्ष्मीलाई घर खर्च तथा ऋण सहयोगका नाममा करिब डेढ लाख रुपियाँसम्म पठाइदिए । तर त्यही घरखर्च र ऋण सहयोग लक्ष्मीका लागि काल बन्न पुग्यो ।

उनको कोटेश्वरस्थित होटल होम एन्ड गेस्ट हाउसमा हत्या गरिएको अवस्थामा बैशाख २४ गते शव फेला परेको छ  । हत्याका अभियुक्त फोन प्रेमी बद्री पनि तीन दिनपछि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाकाअनुसार फोन प्रेमका कारण बद्री गत चैत २० गते स्वदेश फर्किएपछि उनीहरूबीच प्रत्यक्ष भेट भएको थियो । पहिलो भेटमा उनीहरूबीच सामान्य भलाकुसारी भएको थियो ।

प्रहरीका अनुसार दोस्रो भेटमा बद्रीले ऋणको कुरा उठाएपछि लक्ष्मीले खर्च भइसकेकाले दिन नसक्ने अडान राखिन् । यसैबीचमा उनीहरूले पति पत्नी भएको भन्दै पटक पटक गरी तीन रात होटलमा बिताइसकेका थिए ।

‘बद्रीले रकम फिर्ता माग्ने र लक्ष्मीले नदिने’ भनेकै कारण उनको हत्या भएको दाबी प्रहरीले गरेको छ । अपराध महाशाखाका प्रमुख दिनेश अमात्यले पैसा, प्रेम र अनैतिक सम्बन्धका कारण बद्रीले लक्ष्मीको हत्या गरेको जानकारी दिए । लक्ष्मीको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार बद्रीलाई पक्राउ गरिएको छ ।

दम्पती भनेर कोठा ‘बुकिङ’ गरेका बद्रीले नाम, ठेगाना र फोन नम्बर भने फरक लेखाएका थिए । प्रहरीका अनुसार बद्रीले लक्ष्मीको हत्या गर्न होटल नजिकैको एक पसलबाट १० रुपियाँमा प्लास्टिकको डोरीसमेत खरिद गरेका थिए ।

साँझको खाना खाएर रात बिताउनका लागि होटल पुगेका बद्रीले साँझ नै लक्ष्मीको हत्या गरी शव सिरकले छोपी रातिभरि कुरी बसेको जानकारी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले दिएका छन् ।

अभियुक्त बद्री बिहान सबेरै एयरपोर्टमा साथी लिन जान्छु भन्दै तीन जनालाई खानाको ‘अर्डर’ दिएर होटलबाट उम्किन सफल भएका थिए । तर उनी दिउँसो ११ बजेसम्म पनि होटलमा नफर्केपछि ढोका खोली हेर्दा लक्ष्मीको हत्या गरिएको पत्ता लागेको थियो ।

प्रहरीले पक्राउ परेका अभियुक्त बद्रीको साथबाट ९५ हजार नगद, लक्ष्मीले प्रयोग गरेको मोबाइल, तिलहरी र टप लगायतका सुनका गरगहनाहरू बरामद गरेको छ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ