ललितपुर, बैशाख २६ ।
यहीँ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाबाट मेयर पदमा उठेका सबै उम्मेदवारीहरूबीच ललितपुर उद्योग बाणिज्य संघद्वारा ‘स्थानीय आर्थिक विकासको अवधारणा’ विषयक एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा ललितपुर महानगरपालिकाबाट विभिन्न पार्टीकातर्फबाट मेयर पदमा उम्मेदवारी दिएका १४ जनामध्ये १२ जनाको उपस्थिति रहेको थियो भने उपस्थित मेयरका प्रत्यासीहरू सबैलाई बाणिज्य संघबाट सबैलाई क्रमशः १) समग्र महानगरपालिकाको आर्थिक विकासका लागि आफ्नो दृष्टिकोण, २) महानगरपालिकाका बासिन्दाहरूको जीवन स्तरोन्नति तथा आर्थिक विकास, ३) विकास निर्माणमा श्रोत परिचालन कसरी सम्भव छ ? र ४) आफू मेयर पदमा चुनिएपछि निजी क्षेत्रप्रतिको अवधारणा के रहनेछ भन्ने विषयमा सबै उम्मेदवारले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष सबिन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाबाट उप–मेयरमा उठेका सबै उम्मेदवारहरूको परिचयात्मक कार्यक्रम एवं शुभकामनासहित उप–मेयर पदमा उम्मेदवारी दिएका सबैलाई दोसल्ला ओढाई सम्मानसमेत गरिएको हो ।