काठमाडौँ, २५ वैशाख । राष्ट्रिय महिला आयोगले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी ‘स्थानीय तह निर्वाचन लैङ्गिक अनुगमन समिति’ स्थापना गरेको छ ।
यही वैशाख ३१ गते तथा जेठ ३१ गते हुने निर्वाचनमा लैङ्गिक विभेद भए÷नभएको अनुगमन गर्न निर्वाचन आयोगको निर्देशनमा समिति निर्माण गरिएको हो ।
आयोगका कर्मचारी तथा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिलाई प्रशिक्षण दिई पहिलो चरणमा हुने ३४ जिल्लाका २४४ मतदान केन्द्र तथा त्यसपछि हुने दोस्रो चरणको निर्वाचनमा बाँकी रहेका मतदान केन्द्रमा खटाउने महिला आयोगका सचिव तुलसीराम सेढाईंले जानकारी दिनुभयो ।
करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचन तथा संविधानमा व्यवस्था गरिएअनुसारका पदमा महिला सहभागिताको भए÷नभएको समेत सो समितिले अध्ययन गर्नेछ ।
देशभर निर्वाचन सम्पन्न भएपछि अनुगमन गर्दा प्राप्त भएको प्रतिवेदन अभिलेख गरी निर्वाचन आयोगमा पठाइने नवगठित समितिका सदस्यसचिव यमेन्द्र उपाध्यायले बताउनुभयो ।
यसैबीच सोही सचिवालयले करिब १५० लैङ्गिक अनुगमनकर्तालाई आज निर्वाचनमा अनुगमन गर्दा निष्पक्ष भूमिका निर्वाह गराउने उद्देश्यले अनुशिक्षण कार्यक्रमसमेत सञ्चालन गरेको छ । सो कार्यक्रममा मतदाता शिक्षाका साथै अनुगमनकर्ताले पालना गर्नुपर्ने आचारसंहितासमेत सिकाइएको छ ।