सिन्धुली,२४ बैशाख ।
स्थानीय तहको निर्वाचनमा भाग लिने जिल्लाका चारदर्जन बढी स्वतन्त्र उमेदवारहरुलाई विरालोदेखि पाउरोटी, केक, तिलहरीदेखि डाडु पन्यूसम्म निर्वाचन चिन्ह प्रदान गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको दुई नगर तथा सात गाउँपालिकाको विभिन्न पदका उमेदवारलाई चुनाव चिन्ह प्रदान गरिसकेको छ।
नगरका मेयर, उपमेयर तथा वडाका अध्यक्ष, सदस्यदेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष र सदस्यलाई फरक–फरक चुनाव चिन्ह प्रदान गरिएको छ। निर्वाचनमा भागलिन स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा (६) र (७) बमोजिम निर्वाचन चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधीश पर्शुराम भट्टराईले जानकारी दिनुभयो।
‘जिल्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र माले पार्टीले दलीय चुनाव चिन्ह पाएका छन् भने बाँकी एक दर्जनबढी पार्टीका चार दर्जन बढी उमेदवार र स्वतन्त्र उमेदवारी दिनेले नियम अनुसार स्वतन्त्र निर्वाचन चिन्ह पाएका छन्,’ उहाँले भन्नुभयो।
अन्य स्वतन्त्र उमेदवारले, मकैको बोट, विरालो, पाउरोटी, जोडी मान्छे, डाडुपन्यू, घोडा, डल्फिन, क्रिकेट ब्याट र बल, क्यासेटको चक्क, केवलकार, एम्बुलेन्स, अम्लो, गितार, केकदेखि तिलहरीसम्मका चुनाव चिन्ह प्रदान गरिएको उहाँको भनाइ छ।
सिन्धुलीको कमलामाई नगरपालीकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार सुवाषचन्द्र रायमाझीलाई मकैको बोट चुनाव चिन्ह प्रदान गरिएको छ। यस्तै स्वतन्त्र सदस्य उम्मेदवार, शम्भु कुमार कार्कीलाई विरालो र पर्सुराम प्याकुरेललाई केटा–केटी चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाच अधिकृत भट्टराईले जानकारी दिनुभयो।
गोलन्जोर गाउँपालिका अध्यक्ष पदका स्वतन्त्र उमेदवार अर्जुन थापालाई जोडी मान्छे चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ। कमलामाई नगरपालिकाकै उपमेयर पदका उम्मेदवार थिरमाया कार्कीलाई डाडु पन्यू, स्वतन्त्र सदस्यहरु विष्णुकुमार श्रेष्ठलाई जोडी घोडा, सुनिता बुढाथोकीलाई डल्फिन चुनाव चिन्ह प्रदान गरिएको छ।
यस्तै सुनकोसी गाउँपालीका ४ का वडा सदस्य युगा हायुलाई गीतार चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत डा. किरण रुपाखेतीले जानकारी दिनुभयो।
फिकल गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार खेमराज विश्वकर्मालाई मकैको बोट र उपाध्यक्ष लोकेन्द्रबहादुर कार्कीलाई डल्फिन चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत नारायणबहादुर थापाले जानकारी दिनुभयो।
यस्तै नगरपालीका १ का वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार बागमान तामाङलाई ठड्याइएको अम्लो चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयो।
कमलामाई नगरपालिका १ का वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएका बावुलाल लोप्चनलाई क्यासेट चक्का, वडा सदस्य धनबहादुर सार्कीलाई क्रिकेट बयाट र बल, पम्फा कुमारी विश्वकर्मालाई केवलकार, रामबहादुर श्रेष्ठलाई पाउरोटी चिन्ह प्रदान गरिएको छ।
यस्तै कमलामाई नगरपालिका २ को अध्यक्ष पदका उम्मेदवार जानुका देवी गौतमलाई क्यासेट चक्काको चिन्ह प्रदान गरिएको छ। वडा सदस्य जुनादेवी चौलागाईलाई एम्बुलेन्स चिन्ह दिइएको छ। कमलामाई नगरपालिका ४ को वडा सदस्य जानुका कुमारी श्रेष्ठलाई जोडी गिलास, पार्वती कार्कीलाई एम्बुलेन्स, महावीर सार्कीलाई पाउरोटी र हरिबहादुर बस्नेतलाई क्रिकेट ब्याट र बल चिन्ह प्रदान गरिएको छ।
कमलामाई नगरपालिका ११ का वडा सदस्य विजयकुमार तामाङलाई पाउरोटी, सुभे वाइवालाई क्रिकेट व्याड र बल, १२ का वडा अध्यक्ष पदका उम्मेदवार लालबहादुर गुर्मछाने मगरलाई कंगारु, वडा सदस्य दिलबहादुर मगरलाई ऊनको डल्लो, नारायण बहादुर गुर्मछानलाई तिलहरी, बेलीमाया गुर्मछान मगरलाई आखवार र वडा न १४ का वडा अध्यक्ष पदका उम्मेदवार डोर विक्रम बुढाथोकीलाई केक र वडा सदस्य मंगली परियारलाई पनि केक चुनाव चिन्ह प्रदान गरिएको छ।
यस्ता चुनाव चिन्ह धेरै स्वतन्त्र उमेदवारलाई निर्वाचन केन्द्र र वडा तथा पदका आधारमा दुईभन्दा बढी व्यक्तिलाई समेत दिइएको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन्।