काठमाडौं, बैशाख २४ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले यही बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाई गरेको छ ।
परिसरका प्रवक्ता प्रद्युम्न कुमार कार्कीले स्थानीय तहको निर्वाचनका समयमा कुनै पनि दुर्घटना नहोस् भन्ने उद्देश्यले महाशाखाले सुरक्षा व्यवस्थामा कडाई गरेको जानकारी दिएका छन् । उनकाअनुसार गत चैत १५ गतेदेखि हालसम्म पाँच हजार छ सय ३३ जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरेर छाडेका जनाएको छ ।
निर्वाचनका समयमा अप्रिय घटना नहोस् भन्ने उद्देश्यका साथ गुन्डागर्दी गर्दै हिँडेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही पनि गरेको परिसरले जनाएको छ ।
यस्तै, परिसरले भक्तपुर र ललितपुर परिसरसँग मिलेर अवैध हातहतियार, विस्फोटक पदार्थका कारोबार एवम् प्रयोगमा नियन्त्रण गर्न नाकामा २४ सै घन्टा ‘चेक प्वाइन्ट’ खडा गरी जाँच गर्ने व्यवस्था मिलाएको तथा लागुऔषध र अवैध सामान भित्रिनसक्ने कुरालाई ध्यानमा राखी नाकामा बसेर शङ्का लागेका व्यक्तिलाई जाँच गरिएको प्रवक्ता कार्कीले बताएका छन् ।
यसैगरी, परिसरले लागुऔषध ओसारपसार, अपहरण, कर्तव्य ज्यान आदिमा फरार अभियुक्तलाई पक्राउ गरी थुनामा समेत पठाएको छ । बैशाख ३१ गते काठमाडौं जिल्लामा एक महानगरपालिका र १० नगरपालिका गरी ११ स्थानीय तहको मतदान छ सय ८७ वटा मतदान केन्द्रमा हुँदैछ ।