सोलुखुम्बु, बैशाख २४ ।
सगरमाथा आधार शिविरमा निधन हुनु भएका ८६ वर्षीय मीनबहादुर शेरचनको शव आज काठमाडौं लगिएकोे छ ।शनिबार साँझ आधार शिविरमा निधन हुनु भएका शेरचनको शव परीक्षणका लागि आज बिहान १० बजे लुक्लाबाट काठमाडौं ल्याइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
आधार शिविरबाट बिहान करिब ८ बजे तेन्जिङ हिलारी बिमानस्थल लुक्ला ल्याइएको शव फिस्टेल एयरको हेलिकम्पटरमार्फत काठमाडौं लगिएको छ । त्रिवि, शिक्षण अस्पताल महाराजगन्जमा शव परीक्षणपछि बौद्ध परम्परानुसार अन्येष्टि गरिने बताइएको छ ।
वि.सं २०६५ मा ७६ वर्षको उमेरमा तीन सय ४० दिन लगाएर सगरमाथा चढी कीर्तिमान राखेका शेरचनको कीर्तिमान २०७१ मा ८१ वर्षीय जापानी युउचिरो मिउराले तोडेकाले शेरचनले ८६ वर्षका उमेरमा सगरमाथा आरोहणको तयारीमा रहेका थिए ।
म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते सात सदस्यीय समूहसहित काठमाडौंबाट हिँड्नु भएको थियो ।
शेरचनको वि.सं २०७० र २०७२ मा सगरमाथा आरोहण योजना असफल भएको थियो । यस वर्ष भने अभियान सफल बनाउने बताउँदै उनी काठमाडौंबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हँुदै आधार शिविर पुगेका थिए ।