काठमाडौं, बैशाख २३ ।
काठमाडौं महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम सुरु गरेको छ ।
यसरी जथाभाबी तार छरिएर रहँदा सहर कुरूप हुनाका साथै आगलागीको समस्यासमेत उत्पन्न हुने हुँदा काठमाडौं महानगरपालिकाले यस अभियान सुरु गरेको हो ।
अहिलेसम्म त्रिपुरेश्वर, कमलादी र कमलपोखरीका खम्बाका अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापन सुरु गरिएको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिएको छ ।
उनकाअनुसार तार व्यवस्थापनका क्रममा अहिलेसम्म काठमाडौं महानगरपालिकाले १५ ट्रक अव्यवस्थित तार निकालेर टेकुमा सङ्कलन गरिरहेको छ ।
तार व्यवस्थापनकै क्रममा काठमाडौं महानगरपालिकाले अव्यिवस्थित रूपमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु र वल्र्ड लिंकलाई कारबाहीस्वरूप रु. २०/२० हजार जरिवानासमेत गरिएकोे छ । जथाभाबी रूपमा सडकलाई कुरूप बनाउन खोज्ने अन्यलाई पनि कामपाले चेतावनी दिएको छ ।
पछिल्लो समयमा कामपाले नमिलेको तार मिलाउने र अनावश्यक काट्ने, र फाल्ने तथा सडकमा रहेको धुलो राती पानीले पखाल्नेजस्ता कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको छ ।