काठमाडौँ, २२ वैशाख ।
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज ललितपुरको चक्रबहीबाट लगनखेल पुर्याईदैछ ।
रथ वैशाख १७ गते वैशाख शुक्ल चतुर्थीका दिनदेखि ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको थियो । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गोदान गरी भोलिपल्ट अर्थात् वैशाख शुक्ल चतुर्थीका दिनदेखि रथ तान्ने परम्परा छ ।
बुधबार सुन्धाराबाट तानेर चक्रबहीसम्म पुयाईएको रथ आज लगनखेलमा पु¥याइन्छ । रथ भोली (शनिबार) लगनखेलमा राखेर महाबलिसहित पूजा गरिन्छ । आइतबार रथलाई लगनखेल र थटीटोलका बीचमा लगी नरिवल जात्रा गरिन्छ । सोमबार बिहान महिला मात्रले रथ तानेर थटीटोल लैजाने गरिन्छ ।
रथ थटीटोलमा पुगेपछि साइत हेरेर अघि बढाइन्छ । राजा गुणकामदेवका पालामा १२ वर्षसम्म अनिकाल भएपछि कामरुप कामाक्षाबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको किंवदन्ती छ । एक हजार चार सय वर्षअघि मत्स्येन्द्रनाथलाई काठमाडौँ उपत्यकामा ल्याइएपछि वर्षा भई सहकाल सुरु भएको विश्वास रहिआएको छ ।