काठमाण्डौ , २१ बैशाख ।
कांग्रेस र माओवादी केन्द्रबीच भरतपुर महानगरपालिकामा तालमेल गर्ने सहमति भएसँगै चितवनमा नेपाली काग्रेसका कार्यकर्ता आक्रोशित बनेका छन् ।
केन्द्रीय पार्टी कार्यालयले गलत निर्णय गरेको भन्दै सभापति शेरबहादुर देउवाविरुद्ध कार्यकर्ताहरु नाराबाजीमा उत्रिएका हुन् ।
सहमतिअनुसार भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई मेयर छाड्ने सहमति कांग्रेसको केन्द्रीय पार्टी कार्यालयबाट गरिएसँगै जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।
भरतपुर महानगरपालिका कांग्रेस बलियो भएका कारण तालमेल गर्न जरुरी नरहेको कांग्रेस सांसद रामकृष्ण घिमिरेले बताउनुभयो ।
आज बिहान कांग्रेसले उम्मेद्वारको जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन गरेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका उपसभापति कैलाश कोइरालाले माओवादी र कांग्रेसबीच तालमेल हुने कुरा गलत भएको र त्यसको पछि नलाग्न सबै कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।
कांग्रेसबाट पार्टीका महासमिति सदस्य रहेका दिनेश कोइराला मेयरको उम्मेद्वार बनेर चुनावी प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ ।