जीवनस्तर उकास्नु एडिबीको मुख्य उद्देश्य हो : अध्यक्ष नाकाओ

जीवनस्तर उकास्नु एडिबीको मुख्य उद्देश्य हो : अध्यक्ष नाकाओ

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

जापान, २१ वैशाख । एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष ताकाहिको नाकाओले निरपेक्ष गरिबीको रेखामुनि रहेका एसियाका ३३ करोड जनाताको जीवनस्तर उकास्नु एडिबीको मुख्य लक्ष्य एवम् उद्देश्य भएको बताउनुभएको छ ।
बैंकको स्वर्णमहोत्सवको समाचार सङ्कलन गर्न योकोहामा अन्तर्राष्ट्रिय सम्मेलनस्थलमा एकत्रित भएका विश्वभरका चारसयभन्दा बढी आर्थिक पत्रकारसँगको भेटमा उहाँले सबै मिलेर समृद्ध एसिया निर्माण गर्नु एडिबीको लक्ष्य हो भन्नुभयो ।

एसियालाई आर्थिक रुपमा समृद्ध महादेश बनाउन यातायात, सञ्चार, ऊर्जाजस्ता भौतिक पूर्वाधार निर्माण गर्न एसियालाई वार्षिक एक खर्ब ७० अर्ब डलर आवश्यक पर्ने बताउँदै उहाँले त्यस निम्ति बैंक लागिपरेको स्पष्ट गर्नुभयो ।

“दिगो विकासको सुनिश्चितता तथा समावेशितासँगै राष्ट्रराष्ट्रबीचको साझेदारी र सहकार्यबाटमात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ,” उहाँले भन्नुभयो । सहरीकरणले अवसरसँगै वातावरणीय चुनौती थपेको तर्क गर्दै उहाँले हरित सहर विकासलाई बैंकले प्राथमिकता दिएको बताउनुभयो ।

क्षेत्रीय सहयोग विस्तार, व्यापार विविधीकरण र एकीकरण एसियाको समृद्धिका लागि अपरिहार्य तत्व भएका बताउँदै उहाँले सदस्य देशका सरकारसँगको साझेदारी, समन्वय र सहकार्यबाट लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

जलवायु परिवर्तनका असरविरुद्ध लड्न तथा पर्यावरणीय सन्तुलन कायम गर्दै सामाजिक सुरक्षाका साथ दिगो विकास हासिल गर्ने उद्देश्य प्राप्तिमा भरथेग गर्न बैंक सधैँ सदस्य मुलुकका साथमा रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

एडिबीका सदस्य देशलाई बैंकले पूर्वाधार क्षेत्रको विकासका लागि ७० प्रतिशतसम्म ऋण सहयोग गर्दै आएको र बैंकसँग त्यसो गर्न पर्याप्त पुँजी रहेको जानकारी उहाँले दिनुभयो ।
चीनले अघिसारेको ‘एकक्षेत्र एक मार्ग’ (ओबोर)अवधारणा सम्पर्क र सञ्जाल विस्तारको उपयुक्त उपाय हो भन्दै अत्यन्त कम जनसङ्ख्या भएका केही मुलुकमा ओबोरको सम्भाव्यताबारे पुनर्विचार गर्नुपर्ने टिप्पणी गर्नुभयो ।

सदस्य देशका ऊर्जा समस्या सम्बोधन गर्न बैंकले स्वच्छ ऊर्जा प्रवद्र्धनमा जोड दिएको बताउँदै उहाँले वायु, सौर्य, नवीकरणीय र जलविद्युत् बैंकका प्राथमिकता हुन् भन्नुभयो ।

कोेरियाली प्रायद्वीपमा बढ्दो तनाब र चुलिँदो प्रतिरक्षा खर्चले एसियाली देशको विकास बजेटमा पर्ने प्रभावबारेको अर्को एक प्रश्नको जवाफमा उहाँले विद्यमान तनाब अन्त्य भई शान्त र समृद्ध एसिया निर्माणमा त्यसले बल पुग्ने विचार व्यक्त गर्नुभयो ।

यसैबीच बैंकले नेपालको सहरी विकास, खानेपानी आपूर्ति तथा व्यवस्थापन, ढल तथा नदी क्षेत्र सुधारका तीनवटा परियोजनाबारे राससलाई जानकारी दिएको छ ।

बैंकले यो वर्ष क्षेत्रीय १४ करोड ७० लाख अमेरिकी डलरको लागतमा क्षेत्रीय सहरी विकास आयोजना, आगामी वर्ष चार करोड अमेरिकी डलरको लगानीमा वाग्मती नदी किनार सुधार परियोजना (अतिरिक्त लगानी) र १८ करोड ५० लाख अमेरिकी डलरको लागतमा सन् २०१९ मा दोस्रो काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना सञ्चालन गर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी