काठमाडौं, बैशाख २० ।
आज मे ३ तारिख अर्थात अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न सरोकारवाला संघ संस्थाले विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ ।
सन् १९९३मा संयुक्त राष्ट्र संघको साधरण सभाले घोषणा गरे पछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइने गरिएको हो ।
यस वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशिता विचको सम्बन्धलाई उजागर गर्दै यसदिवस मनाइदै छ ।
दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आज विहान राजधानीको बानेश्वर देखि माइतीघर मन्डलासम्म प्रभात फेरि निकालेको छ भने दिउसो प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देश भित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रताको हननको घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरु प्रति श्रद्धा व्यक्त गर्न यो दिवसको विशेष महत्व रहेको छ ।
एक वर्षको अवधिमा ने पालमा प्रेस स्वतन्त्रता हननका ७० वटा घटना घटेको नेपाल पत्रकार महासंघले जनाएको छ ।