रसुवा, बैशाख १९ ।
कालिका गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृत सन्तोष गिरी आज बिहान कालिका गेष्ट हाउसमा झुण्डिएको अवस्थामा फेला परेका छन् । उनी खादाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको रसुवाका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिएका छन् । उनकाअनुसार अहिले उनलाई उपचार गर्न हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।
प्रहरी नायब उपरीक्षक प्रसाईंकाअनुसार नाडीको चाप चले पनि बेहोस अवस्थामा रहेको बताएका छन् । आज बिहान सवा ४ बजे जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको कालिका गेष्ट हाउसको रेलिङबारमा आवाज आएपछि उनीसँग भित्र कोठामा बस्ने साथीले थाहा पाएर स्थानीयबासीको सहयोगमा पासो फुकाली तत्काल नुवाकोटको अस्पतालमा उपचारार्थ पठाइए पनि होस् नखुलेका कारण थप उपचारका लागि काठमाडौं पठाइएको प्रसाईंले बताए ।
आज हुने स्थानीय तह निर्वाचनको उम्मेदवार दर्ताका लागि कालिका गाउँपालिकामा अर्को निर्वाचन अधिकृतको व्यवस्था भइसकेकाले मनोनयन दर्तामा कुनै असर नपर्ने मुख्य निर्वाचन अधिकृत कार्यालय रसुवाले जनाएको छ ।
यता बिदुरबाट प्राप्त समाचारअनुसार उनको स्वाश–प्रश्वास सञ्चालनमा कठिनाई भएकाले अवस्था गम्भीर रहेको उपचारमा संलग्न सिटी अस्पताल बिदुरका डा. मनोज रिमालले जानकारी दिए ।
कालिका गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मोहन श्रेष्ठकाअनुसार निर्वाचनको लागि खटिएका कर्मचारीसँग जिससको गेष्ट हाउसमा बसेका गिरीलाई आज बिहान प्यासेजमा झुण्डिएको समयमा स्वाश फेर्न गाह्रो भएर कराएको सुनिएपछि उद्दार गरिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय रसुवाका नासु नारायण घिमिरेकाअनुसार स्थानीय तहको निर्वाचनको लागि आज हुने उम्मेदवारी दर्ताको पूर्वतयारी गरी उनी हिजो बेलुका १० बजे सुतेका थिए ।
बेपत्ता छानबिन आयोगमा कार्यरत रहेका उपन्यायाधिवक्ता गिरी स्थनीय तहको निर्वाचनको लागि कालिका गाउँपालिकाको निर्वाचन अधिकृतको जिम्मेवारी लिएर गत साता रसुवा आएका थिए ।