पाचँथर सुभागंबाट झापा झरे पछि मैले शुरुमा १२ वर्षको उमेरदेखि विवेचना दैनिक वितरण गरेर ५९ सालबाट पत्रकारीताको यात्रामा अघि बढेकी थिएँ । काईला दाई गणेश ( हाल गणतन्त्र एफएम धरानका स्टेसन म्यानेजर हुनुहुन्छ ) ले विवेचना दैनिक वितरण गर्नका लागि ल्याउने र त्यसलाई मैले ग्राहकहरुको घर घरमा पुर्याउने गरेको थिए र पसलमा पनि । यो पत्रिका साईकलमा बाहुनडागी, ईटाभट्टा, तेलपानी, टोकला, काकडभिट्टा छेउ , अधेरी लगायतका ठाउँमा साईकलको भरमा मैले कक्षा ७ मा पढ्दा पुर्याउने गर्दथे ।
राम मन्दिर टोल भन्ने ठाँउमा घर छ हाम्रो । बुवा पछि पहाडमै बस्ने र तराईमा भर्खर झरेर दुखः गर्नु परेकाले आफ्नो स्कुलको फि र खर्चहरु मैले यसैबाट कमाउन थालेकी थिए । एउटा पत्रिका विक्री हुदाँ मैले ७५ पैसा जति पाउथेँ । पहाडमा प्रशस्त खेतीपाती भए पनि १० छोरा छोरी मध्य हुर्किएका धेरै जसो माओवादी जनयुद्धमा सामेल भए , कोही कामको सिलसिलामा घर छाडेर हिडे पछि सबै भन्दा कान्छी सन्तान मैले घरमा निकै दुखः व्यहोर्नु पर्ने बाध्यता बन्यो ।
द्धन्द कालमा माओवादी जनसेना आईरहने गर्दथे घरमा र हामी उनीहरुलाई मद्धत पुर्याउथ्यौं । गाउँ भरीमा शुरुमा हाम्रै घरबाट धेरै जना माओवादीमा पहिलो पटक सामेल भएकाले गाउँका विभिन्न माओवादी विरोधी हरुले रातिको समयमा घरमै आगो लगाउने, ढुगांमुडा प्रहार गर्ने गरे पछि धम्की पत्र घरमा छाडे पछि बढ्दो असुरक्षाका कारण झापामा झरेका थियौं । खास दुखः यसै कारणले गर्नु पर्ने भयो । पत्रिका पुर्याउन बिहान ४ बजे नै घरबाट उठेर ईटाभट्टा पुगिसक्थे । कहिलेकाही त पत्रिका ग्राहककोमा पुर्याउदा पुर्याउदै स्कुल पनि छुटेको थियो । झापामा शुरुमा आफ्नो घर नभएकाले एक भुटानी शरणार्थी परिवारले बनाएको घरमा बसेका थियौं ।
त्यसरी २ वर्ष जति दुखः गरे पछि मैले पत्रिकामा छापिएका समाचार लेख र फिचर स्टोरि हेरेर पढेर आफुले पनि लेख्न प्रयास गरे । प्रशिक्षार्थी पत्रकारको रुपमा विवेचना दैनिक, जनसंसद लगायतका झापाका स्थानीय पत्रिकामा मेरो फिचर र समाचारहरु प्रकाशित हुन थाले । बाईलाईन नै समाचारहरु छापिन थाले पछि खुसी पनि हुन थालियो ।
परिवारका सबै जना माओवादीमा लागेकाले म पनि त्यसमा आवद्ध नहुने कुरै भएन । ६१ सालमा सानै भए पनि तगडा छे भनेर पार्टीका मान्छेहरुले गोप्य रुपमा गठन भएको गाँउ कमिटिमा झापामा औपचारीक रुपमा संगठित भएर काम गर्न थाले । यसको लागि मलाई अन्तरे दाई ( प्रवीण , हाल वाईसिएल ईलामका अध्यक्ष ) ले संगठित बनाउनु भएको थियो । भित्र भित्रै पार्टीको काम गर्नु पनि पर्ने र पत्रकारीता पनि भएकाले दुखः त गर्नै पर्यो । पछि ६२ सालमा दिल्लीमा १२ बुदे समझदारी भए पछि र १९ दिने जनआन्दोलन शुरु भए पछि खुलेर आन्दोलनमा लागियो ।
१९ दिने आन्दोलन सकिए पछि शहरमा पार्टीको प्रकाशन पनि खुल्ला हुन थाले पछि मैले विराटनगरबाट निस्कने पार्टीको मुख पत्र जनविद्रोह दैनिक झापामा वितरण, समाचार तथा लेख लेखन र विज्ञापन उठाएर काम अघि बढ्यो । यसैबेला म महिला तथा विद्यार्थी संगठनमा पनि सक्रिय थिए । मैले अखिल नेपाल महिला संघ क्रान्तिकारी र धुलावारी क्याम्पसमा अखिल क्रान्तिकारीमा पनि काम गरेकी थिए । तर मुख्य कर्मथलो पत्रकारीता बन्दै गयो । झापामा अन्य दैनिक भन्दा धेरै जनविद्रोह दैनिकमा समाचार लेखन, वितरण र विज्ञापन संकलन गर्न सफल भएकी थिएँ । यसरी मैले ३ वर्ष निरन्तर काम गरे । पार्टीको मुख पत्र भएकाले जिम्मेवारीको रुपमा पनि काम गर्ने पर्ने थियो । ६४ साल बैशाख पछि भने मैले धरानको गणतन्त्र एफएम, काठमाण्डौंको रेडियो मिर्मिरे , रेडियो नेपालको घटना र विचार, सुर्खेतको भेक आवाज एफएममा झापाका समाचारहरु पठाउन थाले ।
यही सिलसिलामा २०६६ सालमा वैवाहिक जीवनको शुरु गरियो पार्टी निकट पत्रकार प्रज्वल श्रेष्ठसगँ । प्लस टु पनि पास भए पछि काठमाण्डौं प्रवेश गरियो । त्यस पछि जागिरको खोजी शुरु भयो । सुर्खेतको हिमाल एफएम, धरानको गणतन्त्र एफएममा मार्केटीगंको काम पनि गरेँ । पछि विभिन्न अन्य मिडियामा कुरा हुँदा हुदै रेडियो मिर्मिरेमा यस रेडियोका तात्कालीन अध्यक्ष विष्णु सापकोटा र प्रमुख व्यवस्थापक घनश्याम श्रेष्ठले नियुक्ति दिए । भदौबाटै यसै रेडियोमा जोडिन शुरु भए पछि मैले अन्त काम छाडेर पूर्ण रुपले यसमा केन्द्रीत भएँ ।
६८ साल असार २ मा पहिलो सन्तानका रुपमा छोरी प्रणिताको जन्म भयो । बच्चा जन्मिने डेट थापाथली प्रसुती गृहले जेष्ठ २७ मा दिएको थियो र मैले जेष्ठ २६ सम्म समाचारमा काम गरीरहे । बच्चा जन्मिए पछि ९० दिन सम्म रेडियोले विदा दिएको थियो । तर रेडियोमा विभिन्न समस्या परेकाले ७८ दिनको हुदाँ देखि पुनः काममा फर्किए । भदौ तिर देखि काममा फर्किएकाले मैले बच्चा बोकेरै अफिस जान थाले । डेरामा हेरिदिने कोही हुदैन थिए । कहिले समाचार पढेर आउदा बच्चा रुएर हुरुक्क हुन्थिन् । दिशा पिशाब गरेर बसेकी हुन्थिन् । यस बेला समाचार कक्षमा अरु धेरै सार्थीहरु विवाह नगरेका थिए । अरु स्टाफहरु पनि । कतिपयले बच्चालाई मायाँ गरे पनि कतिपयले बच्चा किन ल्याको , बच्चा रुएर काम गर्न दिएन भन्ने अभिव्यक्ति दिए । कतिले त बच्चालाई चिमोटेर आफै पनि रुवाईदिन्थ्ये । तर पनि म सगँ विकल्प थिएन ।
मैले साथीहरुको त्यो आलोचना सहदै पनि बच्चा हुर्काए । पछि रेडियोमा जादा जादै हिड्न सक्ने भए पछि भने कार्यक्रम चलाउदा अन एयरमा पुर्याए पनि छोरी नबोली बस्थिन् । यो बेलामा अरुले पनि सहयोग गर्नु भयो तर सबै भन्दा बढी कार्यक्रम सञ्चालक राजेश काफ्लेले निकै मद्धत पुर्याउनु भयो ।
उहाँले छोरीलाई चकलेट, स्याउ दिनै पिच्छे दिने र समाचार पढ्ने बेलामा बाहिर घुमाएर ल्याईदिनु हुन्थ्यो । राजेश काफ्लेले टुनटुन भनेर जिस्एकाउने गरेकाले अहिले पनि छोरी प्रणिताले उनलाई टुनटुन ठूलो बुवा भनेर बोलाउछिन् । त्यसै गरी रुबी श्रेष्ठले पनि बच्चालाई खुवाउने डुलाउने गर्नु भयो र सहयोग पुर्याउनु भयो ।
मैले बिहान ५ः ३० देखि दिउसो १ बजेसम्म निरन्तर काम गर्थे , कहिलेकाही १० रुपैयाको चना र आलु खाएर बस्थे कहिले खालि पेट , पानी पिउदै । आफ्नो ड्युटी समयभन्दा बढी डवल ड्युटि पनि गर्ने पर्यो कहिलेकाहि तर पनि हिम्मत हारिन । हामी दुवै (श्रीमान श्रीमती नै पत्रकारीता पेशामा भएकाले र घरमा अरु नहुदा बच्चा हेर्ने मान्छे थिएनन् ) । भर्खर तीन महिनाको बच्चा बिहान एक्लै कोठामा छाड्ने र करिब डेढ घण्टापछि फर्किएर आई पुनः अफिसनै लिएर जान सुरु गरे ।
रेडियोको समाचार कक्ष जहा आफु बसेर समाचार बनाउथे , छोरीलाई छेउमा दुईवटा कुर्सि जोडेर कोक्रो जस्तो बनाएर सुताउथे । भोक लागेर रुदा काखमै बोकेर दुध चुसाउदै समाचार बनाउथे तर जव समाचार वाचन गर्ने समय हुन्छ । भर्खर दुध खान लागेकी होस् या त भोकले चिच्चयाउदै गरेकी होस् या डाईपरमा दिशा पिसाव भरिएर रोएकि होस त्यत्तिकै छोडेर अन एयरमा पस्थे र समाचार पढेर आउथे ।
छोरी १८ महिना पुगेपछि मन्टेस्वरी भर्ना गरे । त्यो बीचमा प्रत्येक दिन म सँगै छोरीलाई अफिस लैजान्थे । उठ्न नसक्ने हुनजेल कुर्सिमा सुताउथे , त्यसपछि भुईमा , कहिले सोफामा सुताउथे । बच्चा राख्ने छुट्टै व्यावस्था थिएन । त्यसक्रममा थुप्रै जटिलताहरु आए । बच्चा रुदा अरु सहकर्मीहरुलाई डिस्टव हुन्थ्यो । कतिपयले अपाच्य शब्दले समेत गालि गर्नुहुन्थ्यो । कसैले एकछिन समातिदिनुहुन्थ्यो ।
बच्चालाई काखमा राखेर दुध चुसाउदै समाचार बनाउन अभ्यस्त नै भईसकेको थिए । तर जब मुख्य बुलेटिन आउने समय हुन्छ त्यति बेलै फोन गर्दै समाचार अपडेट गर्नुपर्ने र भ्वाईस काट्नु पर्ने हुन्थ्यो अनी बच्चालाई खुवाउनुपथ्र्यो । सारै गार्हो हुन्थ्यो । एक्लै हुदा रुवाउदै काम गर्न सकिने तर अरु सहकर्मी पनि हुदा डिस्टव गर्ने भएकाले झन तनाव हुन्थ्यो ।
कतिपयले त बच्चा ल्याएर काम गर्ने ठाउ हैन यो । बच्चा बाहिरै छाडेर आउ , असभ्यता फैलियो सम्म भने , कतिले बच्चाकै नाममा बहाना बनाएर काम गर्न पनि आनाकानी गर्थे । कहिले त्यस्तासँग झगडा पनि गरेकी छु । कतिले यस्तै हुन् नी सानै छन् अलि फकाएर नरुवाई राख्न पर्यो भन्थे । कसैले बाहिर लगेर चक्लेट किनेर खवाउथे पनि ।
जतिबेला खादै गरेको बच्चा फुत्त भुईमा छाडेर समाचार पढ्न जानुपथर्यो , एकछिन हेर्दीनुस् न है भन्दा पनि सहकर्मीहरुले सकिन्न भन्दा बस है नानी भन्दै अन एयरको ढोका बाहिर छोडेर भित्र पस्दा मन भारी र पीडा महसुस नभएको हैन । आफु भित्र समाचार वाचन गरिरहदा प्राविधिक रुममा बच्चाले आफुलाई हेर्दै आशु र्याल सिगान बगाएर चिच्याएर रोएको देख्दा कसैले फकाईदिए हुन्थ्यो जस्तो हुन्थ्यो । उसको रुवाई र चिच्याहट आफ्नो कानमा अन एयरमा नै ठोक्किदा थुप्रै पटक आखा रसाएका पनि छन् । तर नेतृत्वले बच्चा ल्याउन पर्दैन नभनेर अफिसमा नै राखेर काम गर भनेपछि सहज भएको थियो र सबै कुरा पचाएर ति दिनहरु बिते ।
तोते बोल्ने भएपछि उसले बाहिर बस्दीन , म तपाइकै छेउमा नबोलिी बस्छु है मामु भनेर गरेको आग्रह धेरै पटक अस्वीकार गर्न नसकेपछि , संस्थागत नियम तोडेर छेउमा कुर्सिमा राखेर आफुले समाचार पढेको छु , त्यसबेला हेडफोन लगाएर मेरो आवज सुन्थिन उनी । बाहिर राख्दा धेरै रुने र ढोकामा हानेर बोलाउने गर्दा आवाज रेडियोमा नै प्रसारण भएपछि आफैसँग राखेको थिए । तर उनले कहिलै बोलिनन् , खोकि लाग्दा मुख थुनेर बिस्तारै बाहिर जान्थिन । उनी अहिले ६ बर्ष लागिन् ।
२०७१ साल माघ मा फेरी अर्को सन्तान छोरा प्रशिद्ध जन्मियो । यो बेला सम्म छोरी प्रणिता स्कुल प्रवेश गरेकाले रेडियोमा कमै आउथिन् । तर पुनः छोरो प्रशिद्ध कार्यलयमा ल्याउनै पथ्र्यो । रुन्थ्यो, झगडा गथ्र्यो । यसले पनि कार्यलयमा खास गरी पुरुष स्टाफहरु बढी झर्किन्थे । महिला सहकर्मिहरु मिक्सागं वाईवा, रेखा शाही र राज कपुर महर्जन र विनोद श्रेष्ठ ले बच्चालाई माया गर्ने डुलाउने गर्दथे । म कति समय रिपोर्टीगंमा बच्चा पुरानै ठाउँ सोफामा सुताएर जान्थे र रुए पछि साथीहरुले हेरिदिनुहहुन्थ्यो । कुनै दिनहरु , साथीहरुले गरेका ब्यावहार अविश्मरणीय रहेपनि पहिलो सन्तानको तुलनामा दोस्रो केही सहज थियो । माईती घरबाट आमा आएर सहयोग गरिरहनु भएकोले पनि मैले सजिलै काम गर्न पाए । अहिले दुबै बच्चा स्कुल जान्छन् र मैले पत्रकारीतामा केही सहज महसुस गर्न थालेकी पनि छु ।
शायद म र म जस्ता अन्य सन्चारकर्मी महिलाहरुलाई यो जटिलता र चुनौतिको पाटो हो । एकल रुपमा बस्दै आएका हामि जस्ता सन्चारकर्मीहरुले गर्भाअवस्था र बच्चा जन्मिएपछि कि त आफ्नो काम नै छाड्नुपर्छ ,या अनेकौ पीडाहरु सहेर निरन्तरता दिनपर्छ । रेडियोमा काम गर्ने (फिल्डमा जानु नपर्ने) हरुलाई केहि सहजता छ , समाचार बनाउने बोल्ने तर टेलिभिजनमा काम गर्ने सन्चारकर्मी महिलाहरुलाई हामि आफैले देख्न सक्छौ गर्भाअवस्थामा नै क्यामरा सहित प्राविधिक सामानको यति ठुलो भारी झोला बोकेर बाईकमा बसि रिपोर्टिन मा जानु पर्छ । कतिले त सोहि कारण जागिर नै छोडेर हिडेका पनि हामि सँगै प्रसस्त उदाहरण छन् ।

म बिबाहित महिला केहि जटिलताहरु आए । सुनेकी थिए महिलाहरु बिबाहपछि पत्रकारीता पेशा छाडेर पलायन हुन्छन् । त्यसपछि पनि निरन्तरता दिनेहरु बच्चा जन्मिएपछि हराउछन् । त्यस्तै भएको पनि देखिन्छ नेपाली समाजमा । तर मलाई यी दुबै कुरा मान्य थिएन । साप्ताहिक बिदा पनि थिएन त्यसबेला , बच्चा जन्मिने दुई दिन अगाडि मात्रै बिदा लिएकी थिए अफिसबाट ।
साना बच्चा भएका सन्चारकर्मीलाई मिडिया हाउसहरुमा बच्चा खेलाउने र हेर्ने व्यावस्था सहित शिशु स्याहार केन्द्र नै राखिनुपर्छ भनेर बेला मौका आवाज पनि नउठेको हैन । तर अहिलेसम्म त्यस्तो व्यावस्था कहि कतै भएको पाउदैनौ । शिशु स्याहारको लागि व्यवस्था नहुंदा अधिकांस महिला पत्रकारहरु सुत्केरी पछि संधैंको लागि यो पेशा छोड्ने गरेका छन् । पछिल्लो समय पत्रकारीता क्षेत्रमा महिलाको आकर्षण र आगमन बढ्दै गएपनि चुनौतिहरु हल हुन नसक्दा लामो समयसम्म टिकेर रहन सकेका छैनन् । साथै गुणात्मक विकास पनि हुन सकेको छैन । हिजो बिभिन्न कठिनाई र चुनौतिका बाबजुत षघर्ष गरेर यो क्षेत्रमा प्रवेश गरेका महिलाहरु हाल गुमनाम छन् । महिलाका मासिक चक्रको समय र सुत्केरी अघि र पछिका समय कष्टकर हुने गर्दछ । सरकारी संचार माध्ययम हरुले केही विवेकशिलता राखेको भएपनि नीजि संचार माध्ययममा जव महिला पत्रकार सुत्केरी हुने अवस्था आउंछन् त्यसअघिबाटै उनको स्थानमा को ल्याउने भन्ने विषयमा छलफल हुन थाल्दछ ।
यो मेरो व्यक्तिगत अनुभुति मात्र होईन यो समग्र महिला पत्रकारहरुको वेदनाको उदाहरहण हो । किन धेरै महिला पत्रकारहरु कार्यक्षेत्रबाट बिबाह भए पछि पलाएन भएका छन् किन बच्चा भए पछि पलाएन भएका छन् ? त्यसको कारण के हो ? हामीले कहिले पनि ध्यान दिन सकेका छैनौं । देशको आधा भन्दा बढी जनसंख्या भए पछि पत्रकारीता क्षेत्रमा महिलाहरुको प्रवेश पुरुषको तुलनामा कमै छ ।
पत्रकारीतालाई नै पेशा बनाउछु भन्ने मानसिकताका साथ प्रवेश गरेका महिला पत्रकारलाई टिकाउन र उनीहरुको गुणस्तरीय बढाउन सन्चारगृहले पनि महत्वपूर्ण भूमिका निभाउन जरुरी छ । महिलाको स्वास्थ्य संग प्रत्यक्ष जोडिएका तथ्यहरु प्रति नै सन्चार गृहहरु संवेदनहिन हुनु पनि महिलाहरु यो पेशाबाट पलायन हुनुको अर्को कारण हुनसक्छ । मेरो सुझाव के छ भने महिलाहरुमाथि सञ्चार गृहमा हुने विभेद अन्त्यका साथै बच्चा बच्ची जन्मिएको अवस्थामा केयर स्पेस राख्ने व्यवस्था गर्नु पर्ने देखिन्छ ।
लेखक : सिर्जना तिम्सिना नेपाल पत्रकार महासंघ ललितपुरकी उपाध्यक्ष हुन् । ( यो संस्मरण नेपाल पत्रकार महासंघ , ललितपुरको प्रकाशन “ललितपुर पत्रकारीता” मा प्रकाशित छ । )



