चितवन, वैशाख १८ ।
चितवन र सुनसरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा आज बिहान पहिचान नभएको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार भेरीगङ्गा–१३ सुर्खेतका ३९ वर्षीय जगविन्द्र धौलाकोटी रहेको इलाका प्रहरी कार्यालय, मुग्लिनले जनाएको छ ।
नारायणगढतर्फ आउँदै गरेको वा ६७ प ६१९५ नंबरको मोटरसाइकलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा धौलाकोटीको घटनास्थलमा नै मृत्यु भएको हो ।
मोटरसाइकल चालक चपुर–१ रौतहटका निलबहादुर परियारको भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।
उता इटहरी उपमहानगरपालिका २० स्थित तरहरामा जन्तीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनकुटाबाट जन्ती लिएर इटहरीतर्फ आउदै गरेको को १ ख ४०८४ नम्बरको बसले को २ प ६५१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा करिब ३५ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको प्रहरी चौकी तरहराले जनाएको छ ।
मङ्गोलियन अनुहारका मोटरसाइकल चालक मृतकको शव क्षतविक्षत भएकाले सनाखत हुन सकेको नसकेको जनाइएको छ । बसका चालक धनकुटा बूढीमोरङका ३२ वर्षीय कवीन्द्र लिम्बूलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ ।