बुटवल, बैशाख १७ ।
नेपालमा पछिल्लो समयदेखि विषादीको अत्यधिक र अनियन्त्रित प्रयोग बढेका कारण यसकोे आवश्यक मात्राको प्रयोगबारे किसानलाई जानकारी दिन तालिमको आयोजना गरिएको छ ।
दिगो कृषिका लागि युवा प्रयत्न नामक संस्थाले आयोजना गरेको दुईदिने सो तालिममा विषादीको प्रयोगको विधि र त्यसबाट हुने सकरात्मक तथा नकारात्मक असरसम्बन्धी जानकारी गराइएको छ ।
जिल्ला कृषि विकास कार्यालय बुटवलकी कृषि प्रसार अधिकृत आशा भण्डारीले अत्यधिक विषादी प्रयोग गर्दा माटोको उर्वराशक्ति घट्ने र कृषक तथा उपभोक्ताको स्वास्थ्यमा पनि नकरात्मक असर पर्ने बताएका छन् ।
माटोको दिगोपन बढाउन पनि रासायनिक विषादीको प्रयोग नियन्त्रण गर्नुपर्ने जिल्ला कृषि विकास कार्यालय बुटवलका प्राविधिक सहायक सुबोध भट्टराईले बताए ।
विषादीको गुणअनुसार प्रयोग गरेको एक हप्तादेखि महिनादिनसम्म फसल प्रयोग गर्न नहुने, जैविक मल र कीटनाशक विषादीको असरलगायतका विषयमा श्रव्य–दृश्यमार्फत जानकारी गराइएको सो तालिममा विषादी प्रयोगगर्दा चाहिने सामाग्री निःशुल्क वितरण गरिएको छ ।