काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताउनुभएको छ ।
मलेसियाका पूर्वप्रशासक र व्यवसायीको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले विकास र समृद्धिमा नै जनताको मूख्य चासो भएको बताउनु भएको हो ।
उहाँले नेपाल सरकार पनि जनताको विकास र समृद्धिको चाहना पूरा गर्न रातदिन लागिपरेको बताउनुभयो ।
“ नेपालमा भएको लगानी र पूर्वाधार सम्मेलनमा लगानीको राम्रो प्रतिबद्धता आएको छ, लगानीका सम्बन्धमा रहेका प्रतिकूल कानुन परिमार्जन गरेर हामी लगानी भित्र्याउन चाहन्छौँ, अहिले आर्थिक वृद्धि बढेको छ, समृद्धि र विकासमा सकारात्मक लक्षण देखापरिरहेका छन्”, उहाँले भन्नुभयो ।
भेटमा प्रधानमन्त्रीले दशौं लाख नेपाली कामदारहरु मलेसियामा रहेको र उनीहरुको हित नेपाल सरकारको मूख्य सरोकारको विषय भएको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हाम्रा दशौं लाख नागरिक मलेसियामा कामदारका रुपमा छन् । उनीहरुले विभिन्न कठिनाई भोगिरहेका छन् । फ्रि भिसा भनेपनि विभिन्न नाममा मोटो रकम तिर्न बाध्य भइरहेको कुराप्रति सरकार जानकार छ । नेपाल सरकार मलेसियामा कार्यरत नेपाली कामदारहरुका समस्या समाधानका लागि कुटनीतिक पहल गरिरहेको छ ।’
मलेसियाले छोटो अवधिमा आर्थिक विकास गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसबाट नेपालले पनि शिक्षा लिनसक्ने बताउनु भयो । भेटमा मलेसियाको पुत्रजय नगरका पूर्वमेयर तथा पूर्व गृहसचिव तान्श्री आसेले प्रचण्ड नेतृत्वको सरकारका पालामा विकास र आर्थिक वृद्धिदरमा प्रगति भएको बताउँदै विकास र समृद्धिमा नेपाल र मलेसियाबीच सहकार्यका लागि आग्रह गर्नुभयो । भेटमा नेपाल मलेसिया बिजनेश काउन्सिलका अध्यक्ष प्रदीप दातोले नेपालीहरुले मलेसियामा गरेको व्यवसायका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।
सो अवसरमा मलेसियाको पुत्रजय नगरका पूर्वप्रमुख तथा पूर्वगृहसचिव तान्श्री आसेले दाहाल नेतृत्वको सरकारका पालामा विकास र आर्थिक वृद्धिदरमा प्रगति भएको बताउँदै विकास र समृद्धिमा नेपाल तथा मलेसियाबीच सहकार्यका लागि आग्रह गर्नुभयो । नेपाल मलेसिया बिजनेस काउन्सिलका अध्यक्ष प्रदीप दातोले नेपालीले मलेसियामा गरेको व्यवसायका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभयो ।