काठमाडौं, बैशाख १५ ।
महानगरीय ट्राफिक महाशाखाले पैदल यात्रुका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप व्यवस्थित गरी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पैदलयात्रुको सुरक्षाका लागि चेतनमूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको हो । ट्राफिक प्रहरीले पैदल यात्रुलाई जेब्रा क्रसिङ र आकासे पुलबाट मात्र बाटो काट्न आग्रह गरेको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले सवारी चालकलाई जेब्रा क्रसिङ खाली भए पनि ३० सेकेन्ड सवारी रोकेरमात्र अघि बढ्न आग्रह गरेका छन् । उनले जेब्रा क्रसिङमा सवारी नरोक्ने चालकलाई कारवाही गर्ने चेतावनी पनि दिएका छन् ।
यसैगरी आकाशे पुल र जेब्रा क्रसिङ प्रयोग नगरी जथाभावी बाटो काट्ने पैदल यात्रुलाई पनि कारवाही गर्ने बताएका छन् । राजधानीमा सवारी साधनमा हर्न निषेध गरिएपछि ध्वनि प्रदूषणमा कमी आएको भन्दै ट्राफिक प्रहरीले सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले तयार पारेको चेतनामूलक श्रव्यदृश्य देखाइएको थियो ।