काठमाडौं, बैशाख १५ ।
नीजि विद्यालयले विद्यार्थीसँग चर्को शुल्क लिएको विरोधमा विद्यार्थी संगठनहरूले देशभरीका शिक्षा कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरेका छन् ।
शुल्क वृद्धि नियन्त्रण गर्न माग गर्दै अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले दिएको जानकारीअनुसार, संयुक्त विद्यार्थी संगठनको आन्दोलनको घोषणा अनुसार, आज शिक्षा विभाग केन्द्रीय कार्यालय भक्तपुरलगायत देशभरीका जिल्ला शिक्षा कार्यालयमा प्रदर्शन गरिने कार्यक्रम छ ।
यसअघि शिक्षा मन्त्रालयले तोकेको मापदण्डविपरित नीजि विद्यालयहरूले चर्को शुल्क उठाएको बिरोधमा विद्यार्थी संगठन आन्दोलित छन् । उनीहरूले शुल्क फिर्ता नलिएसम्म वार्तामा समेत नबस्ने घोषणा गरेका छन् ।
यसै साता विद्यार्थीहरूले नीजि विद्यालयहरूको संगठन प्याब्सनलगायत बिभिन्न स्कूलमा तालाबन्दी गरेका थिए । यस पटकको आन्दोलनमा विद्यालय सञ्चालकले लिएको शुल्कबारे छानबिन गरेर विद्यार्थीलाई फिर्ता नगराइएसम्म नछोड्ने विद्यार्थीको अडान छ । विद्यार्थी तालाबन्दीमा उत्रे पनि शिक्षा मन्त्रालयले भने समस्या कसरी समाधान गर्ने भन्नेबारे सोचेको देखिदैन ।