आर्इजीपी नियुक्ति विवादबारे तयार प्रतिवेदन मन्त्रिपरिषद्मा पुग्यो , सर्बोच्वमा पेश गर्ने तयारी

आर्इजीपी नियुक्ति विवादबारे तयार प्रतिवेदन मन्त्रिपरिषद्मा पुग्यो , सर्बोच्वमा पेश गर्ने तयारी

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ,१४ बैशाख । 

आईजीपीका लागि योग्यताक्रम सिफारिस गर्न गठित समितिले सर्वोच्च अदालतमा पेस गर्न तयार पारेको प्रतिवेदन बुधबार मन्त्रिपरिषद्मा बुझाएको छ । कार्यसम्पादन मूल्यांकन (कासमू) सहितको प्रतिवेदन आईजीपी विवादमा वैशाख १९ गते हुने सुनुवाइका लागि सर्वोच्चमा पेस गरिनेछ । आईजीपीका प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सरकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्चको बृहत् पूर्ण इजलासबाट भएको आदेश ध्यानमा राखी प्रतिवेदन तयार पारिएको हो ।

प्रतिवेदन तयार पार्न महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्मा, गृहसचिव लोकदर्शन रेग्मी, कानुनसचिव कमलशाली घिमिरे र निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल समावेश समितिले सिलवालसहित चार डीआईजीले चार वर्षमा पाएको अंकसहित योग्यताक्रम कायम गर्दै प्रतिवेदन बुझाएको हो ।

अन्नपूर्ण पोस्ट्लाई प्राप्त प्रतिवेदनअनुसार आईजीपी नियुक्त प्रकाश अर्यालको कार्यसम्पादनको कुल अंक र औसत दुवै अंक उच्च देखिएको छ । सर्वोच्चको बृहत् इजलासले चार वर्षको मूल्यांकन गरी कार्यसम्पादनतर्फ औसतमा उच्च अंक पाउने डीआईजीलाई आईजीपी नियुक्त गर्न चैत ८ गते सरकारलाई परमादेश दिएको थियो । यसबारे अध्ययन एवं मूल्यांकनका लागि मन्त्रिपरिषद्को चैत २८ को निर्णयअनुरूप उच्चस्तरीय समिति गठन भएको थियो।

समितिले डीआईजीमध्ये सिलवाल, अर्याल (हाल आईजीपी), जयबहादुर चन्द र बमबहादुर भण्डारीको कासमूमा प्राप्त कुल अंकसहितको औसत अंक गणना गरी योग्यताक्रम तोकेको छ । कार्यसम्पादनसहित समग्र मूल्यांकनलाई १५० पूर्णांक कायम गरी कासमूको पूर्णांक ४० मा रूपान्तरित गरिएको छ । यसअनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने अर्यालले आव ०६९/७० मा ३९.२०, आव ०७०/७१ मा ३६, आव ०७१/७२ मा ३९ र आव ०७२/७३ मा ४० अंक प्राप्त गर्नुभएको छ । यसरी अर्यालको चार आवको कासमूको कुल अंक जोड १५४.२० छ । अर्यालको चार आवको कासमू औसत ३८.५५ अंक छ ।

दोस्रो नम्बरमा रहनुभएका सिलवालको आव ०६९/७० मा ३९.४६६७, आव ०७०/७१ मा ३६, आव ०७१/७२ मा ३९ र आव ०७२/७३ मा ३८ अंक छ । यसअनुसार चार आवको कासमूको कुल अंक जोड १५२.४६६७ छ भने चार आवको कासमू औसत ३८.११६७ अंक छ । कासमूको कुल अंक र औसतमा झिनो अंकले अर्याल अघि देखिनुभएको छ । डीआईजी भण्डारीको कासमू अंक आव ०६९/७० मा ३९.२०, आव ०७०/७१ मा ३४, आव ०७१/७२ मा ३९ र आव ०७२/७३ मा ३८ छ । उहाँको चार आवको कासमूको कुल अंक १५०.२० छ भने औसत कासमु अंक ३७.५५ छ ।

यस्तै, चन्दको कासमू आव ०६९/७० मा ३८.१, आव ०७०/७१ मा ३४, आव ०७१/७२ मा ३८ र आव ०७२/७३ मा ३७.५० अंक छ । चन्दको चार आवको कासमूको कुल अंक १४७.६ छ भने औसत कासमू अंक ३६.९० छ । यसरी सिलवालले सर्वोच्चमा पेस गरेकोभन्दा समितिको प्रतिवेदनले फरक तथ्य औंल्याएको छ । ‘प्रहरी नियमावली, २०७१ को नियम ३१ उपनियम १६ अनुरुप समग्र मूल्यांकन गरेर प्रतिवेदन बुझाइएको छ’, स्रोतले भन्यो, ‘सर्वोच्चको आदेश अनुरुप दूधको दूध पानीको पानी गरिएको छ । रौं चिरा गनेर पाइपाइ हिसाब गरिएको छ । कुनै तलमाथि गरिएको छैन ।’

नियमावलीको व्यवस्थाअनुसार बढुवा प्रयोजनका लागि कार्यसम्पादन मूल्यांकनको अंक गणना गर्दा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कासमू फारामको औसतबाट गणना गरिने उल्लेख छ । तर नियमावली बमोजिम कार्यसम्पादनको मूल्यांकन भएको अवस्था नरहेको र बढुवा प्रयोजनका लागि कार्यसम्पादनको अंक गणना गर्नुपर्ने भए पुरानो नियमावलीबमोजिम भरिएका पछिल्ला आर्थिक वर्षका कासमूबाट प्राप्त एकमुष्ट अंकलाई पूर्णांक ४० मा परिणत गरी सोहीबमोजिम प्राप्तांक निर्धारण गरिने उल्लेख छ । नियमावलीको यही व्यवस्थालाई आधार मानेर समितिले अंक गणना गरेको हो ।-अन्नपूर्ण पोष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ