काठमाडौं ,१२ बैशाख ।
संयुक्त विद्यार्थी संगठनले नीजि शैक्षिक संस्थाले मापदण्ड विपरित चर्को शुल्क असुलेको भन्दै आज मुलुकभरका जिल्ला शिक्षा कार्यलय घेराउ गरेका छन् ।
नीजि शैक्षिक संस्थाले मापदण्ड विपरित चर्को शुल्क असुलिरहेको भन्दै विभिन्न ९ वटा विद्यार्थी संगठनले विहान ११ बजेदेखि एक घण्टा शिक्षा कार्यालय घेराउ गरेका हुन् ।
पटक पटक सरकारलाई सो विषयमा ध्यानाकर्षण गराए पनि बेवास्ता गरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताउनुभयो ।
यस्तै उनीहरुले भोलि मापदण्ड मिचेर बढी शुल्क लिने नीजि शैक्षिक संस्थाहरुको लेखा र प्रशासनमा तालाबन्दी गर्ने तयारी गरेका छन् ।
यस्तै पर्सी १४ गते प्याब्सन र एन प्याब्सनको जिल्ला तथा केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने लगायतको कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।
यसअघि मापदण्ड विपरित संस्थागत विद्यालयले बढाएको शुल्क तीन दिन भित्र फिर्ता गर्न शिक्षामन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन गर्न नसकेको उनीहरुको आरोप छ ।