काठमाडौं, वैशाख १२।
आज विश्व औलो दिवस नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईंदैछ । दिवसको यस वर्षको नारा औलो रोकऔ जीवन बचाऔं भन्ने तय गरिएको छ ।
दिवसको अवसरका विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी संघ संस्थाले विविध कार्यक्रमको आयोजना समेत गरेका छन् भने स्वास्थ्य मन्त्रालयले पनि राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्षको अप्रिल २५ तारिखका दिन विश्व औलो दिवस मनाउने गरिन्छ । सरकारले सन २०२५ सम्ममा औलो मुक्त नेपाल बनाउन औलो निवारण कार्यक्रम लागु गरेको छ । १५ जिल्ला औलोको उच्च जोखिममा रहेको सरकारी तथ्याङ्क छ ।
औलो रोग लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो रोग आँखाले नदेखिने सुक्ष्म परजीविको कारण लाग्ने गर्छ । औलो रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ मान्छेलाई टोक्दा औलोको परजिवी फैलिने गर्छ । जाडो हुने, कम्पन भएर ज्वरो आउनु र केही समयपछि पसिना आएर ज्वरो घट्नु, थाकेको महसुस हुनु औलो रोगका लक्षण हुन् ।
औलोले महामारीको रुप लिन सक्ने र छिटो फैलिएर धेरैजनाको ज्यान जान सक्ने भएकाले औलोको शंका लाग्ने बित्तिकै रगत परीक्षण गराउन र स्वास्थ्यकर्मीको सल्लाहमा औषधिको पूरा मात्रा खान डाक्टरले सुझाव दिएका छन् ।
लामखुट्टेको टोकाइबाट बच्न झुल भित्र सुत्ने, हातखुट्टा पूरा छोपिने गरी लुगा लगाउने, घरभित्र बस्दा लामखुट्टे भगाउने धुप बाल्ने, घर वरपर लामखुट्टे हुर्कन सक्ने ठाउँमा सरसफाई गर्नु पर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।