संखुवासभा, बैशाख ८ ।
बरुण नदीमा आएको बाढीका कारण अरुण नदी थुनिएपछि चारवटा घरमा क्षति पुग्नुका साथै वस्ती नै उच्च जोखिममा परेको छ । बिहीबार साँझदेखि अरुण नदी थुनिएपछि भोटेखोला गाउँपालिकामा करिब दुई किलोमिटर लामो ताल बनेको छ ।
यदि उक्त ताल फुटेको खण्डमा अरुण तेस्रो आयोजनास्थल र वरपरका सबै क्षेत्रका वस्तीमा क्षति पुग्ने अवस्था रहेको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीकाअनुसार हिमाली क्षेत्रमा हिम ताल फुटेर वरुण नदीमा बाढी आएको हुनसक्ने अनुमान गरेका छन् । उक्त क्षेत्रमा उद्धार टोली पनि खटाइसकेका छन् ।
यसैबीच उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा थुनिएको पानी सावधानीपूर्वक निकासा गरेर मानवीय क्षति हुनबाट बचाउन निर्देशनसमेत दिएका छन् । गृहमन्त्री निधि प्राविधिक टोलीसहित हेलिकोप्टरबाट सङ्खुवासभा जाने तयारीमा रहेको जनाएको छ ।
बाढीपहिरोका कारण संखुवासभाबाट चीन जाने नाका किमाथाङ्काकोे बाटोसमेत बन्द भएको छ ।