चितवन, बैशाख ७ ।
हालै मात्र चीन पुगेर नेपालकातर्फबाट गैँडा दिने सम्झौता पत्रमा हस्ताक्षरपछि नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई जोडी गैँडालाई सन् २०१७ भित्र चीन पठाउने तयारी रहेको राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपाल भट्टराईले जानकारी दिएका छन् ।
अन्य निकुञ्जमा गैँडाको संख्या कम भएकाले चितवन राष्ट्रिय निकुञ्जबाटै दुई जोडी गैँडा पठाइने भट्टराईले जानकारी दिए । उनकाअनुसार अध्ययन अनुसन्धानका लागि ती गैँडा चीनले प्रयोगमा ल्याउने भएको हो । सोझै गैँडा पठाउन नमिल्ने हुँदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लाग्ने उनले जनाएको छ । साइटिस, क्वारेन्टाइनलगायतका नियम कानून पूरा गरेर मात्र वन्यजन्तु ओसारपसार गर्न सकिन्छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलकाअनुसार १० वर्षमुनिका अर्धवयस्क गैँडा पठाउने र तिनलाई नियन्त्रणमा लिएपछि केही समय खुला खोरमा राखेर तिनीहरूको स्वास्थ्य परीक्षण गरी रहनसहनबारे चीनियाँ टोलीलाई जानकारी गराएर मात्र पठाइने जनाएको छ ।
नेपालबाट चीन लगिने गैँडामध्ये एक जोडीलाई संघाई सफारी पार्कमा र अर्को जोडीलाई गोन्जाउको अनुसन्धान केन्द्रमा राखिनेछ । यसअघि नै चीनमा भारतबाट एक सिङ्गे एउटा गैँडा लगिएको थियो । चीनमा अफ्रिकाबाट लगिएका दुई सिङ्गे गैँडा भने प्रसस्त रहेका छन् ।
यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट भारत, जापान, जर्मन, बेलायत, क्यानडालगायतका देशमा गैँडा पठाएको जनाएको छ । सन् १९८६ बाट हालसम्म यसै निकुञ्जबाट नेपालकै बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा र शुक्लाफाँट आरक्षण क्षेत्रमा नौ वटा गैँडा पठाइको छ । पछिल्लो तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा हाल छ सय पाँच वटा गैँडा रहेका थिए ।