मुस्ताङ, बैशाख ७ ।
बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध भएको छ । बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकीको सतह बढेर सडक कटान हुन थालेपछि बेनी–जोमसोम सिधा सवारी आवागमन ठप्प भएको हो ।
बुधबार साँझदेखि नै मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न गाउँबाट सदरमुकाम आउने र देशका विभिन्न भागबाट ती क्षेत्रमा जाने यात्रु मर्कामा परेका छन् । घण्टौँ कुर्दासमेत पानी सतह नघटेपछि तिब्ल्याङ र बेनीमै फर्कन बाध्य भएको तिब्ल्याङका स्थानीयवासीले जनाएको छ ।
माथिल्लो क्षेत्रमा वर्षा हुनेबित्तिकै बेगखोलामा बाढी आउने गरेको छ । बेनी–जोमसोम हुँदै मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप उच्च छ । पोखरा, बेनी र काठमाडौंबाट सिधा जोमसोम र मुक्तिनाथका लागि जिप र माइक्रोबस छुट्न थालेपछि सवारीमा यात्रा गर्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । चैत्र, वैशाख र जेठ मुस्ताङ भ्रमणका लागि उपयुक्त महिना मानिन्छ ।